प्रधानमन्त्रीमा ओलीको दाबी पेस

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

 

 

त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा शितलनिवास गएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘आज दाबी पेस गरिएको छ, नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपतिको कुरा हो,’ उनले भने ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्‌हरुसँग छलफल गरेका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार