मुसिकोट । संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने विशेष अभियान रुकुम पश्चिममा सुरु भएको छ।
मंगलबार बी.पि. स्मृति भवन मुसिकोटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोईरालाले १०० दिने बिशेष अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियानको शुभारम्भ गर्नुहुँदै कोईरालाले जनताको हित र अधिकारको लागि लड्ने पार्टी कांग्रेस नै भएको ईतिहासले पुष्टि गरेको बताउनुभयो । १०० दिने अभियानका क्रममा रुकुम पश्चिमका कांग्रेसका कार्यकर्ताहरु बिचमा रहेर थप छलफल गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीले केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार एक सय दिने सांगठानिक अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले जिल्लामा अभियानको शुभारम्भ गरेपछि पालिकाहरुमा अनुशिक्षण चलाउने र वडा वडामा कार्यक्रम सञ्चालन गर्ने जनाउनुभयो । यस क्रममा क्रियाशिल र साधारण सदस्यता विरतण, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यहरु हुने उहाँको भनाई छ ।
अभियानकै क्रममा माघ महिनाभित्र पार्टीका सबै भातृ संठगनहरुको अधिवेशन समेत सम्पन्न गरेर पार्टीलाई थप क्रियाशिल बनाउने सभापति ओलीले उल्लेख गर्नुभयो । अभियान समापन हुनुअघि तीन दिन जिल्लास्तरमा समिक्षा कार्यक्रम गर्ने बताईएको छ ।
नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीका अनुसार आजको कार्यक्रमबाट वडा वडामा प्रतिनिधिहरु खटाउने निर्णय गरिएको छ । जिल्लाका ६ वटै पालिकाका ७३ वडामा प्रतिनिधि खटाईएको र कार्यक्रमको समेत मिति तय गरिएको छ ।
प्रवक्ता ओलीका अनुसार सानीभेरी गाउँपालिकामा मंसिर २ गते, बाँफिकोट गाउँपालिकामा मंसिर ३ गते, आठबिसकोट नगरपालिकामा मंसिर ४ गते, चौरजहारी नगरपालिकामा मंसिर ५ गते, त्रिवेणी गाउँपालिकामा मंसिर ६ गते र मुसिकोट नगरपालिकामा मंसिर ७ गते सांगठानिक अभियान शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।