रुकुम पश्चिममा नेपाली कांग्रेसका तीन कार्यकर्ता घाईते भएका छन् । आईतबार राती नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणमा परेर उनीहरु घाईते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।
सानीभेरी गाउँपालिका ५ को घ्युढुंगामा आक्रमण भएको उक्त आक्रमणमा परेर कांग्रेस कार्यकर्ताहरु वडा नम्वर ५ का अजय बाँठा मगर, पुष्प पुन मगर र किरण पुन मगर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घाईते तीन जनालाई उद्धार गरेर राती नै सदरमुकामस्थित साझा मुराल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाईतेहरुको हात, टाउको, कान र शरिरका अन्य भागमा चोट लागेको बताईएको छ ।
प्रहरी निरीक्षक पाठकले आक्रमणमा संलग्न भएको आरोपमा सानीभेरी गाउँपालिका ३ का बालकुमार नकाल र चौरजहारी नगरपालिका ४ का प्रदिप मल्ललाई नियन्त्रणमा लिईएको जनाउनुभयो । उहाँका अनुसार सानीभेरी ५ मा भएको उपनिर्वाचनको मतगणनापछि फर्कदै गरेका दुई पार्टीका कार्यकर्ताहरु बिच बाटोमा मोटरसाईकलको हेलमेट फालिएको बिषयमा विवाद हुँदा झडप भएको थियो ।
यता नेपाली कांग्रेस रुकुम पश्चिमले भने सोमबार एक बिज्ञप्ती प्रकाशन गरेर चुनावमा पराजित भएपछि माओवादीहरुले हतियार सहित कांग्रेस कार्यकर्ता माथि आक्रमण गरेको जनाएको छ । जिल्ला सभापति प्रेम प्रकाश ओलीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा माओवादी उम्मेदवारको हार निश्चित भएपछि स्वीकार गर्न नसकेर आतंककारी हर्कत देखाएको उल्लेख छ । कांग्रेसले घटनामा संलग्नलाई कारबाहि माग गर्नुभएको छ ।
आईतबार सानीभेरी गाउँपालिका ५ मा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका मोतिराम खत्री निर्वाचित हुनुभएको थियो । उहाँले ५९० मत ल्याँदा उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गर्नुभएको थियो ।