जनप्रतिनिधिलाई कांग्रेसको निर्देशन- जनयुद्ध दिवसलाई संविधानले चिन्दैन, सार्वजनिक बिदा नदिनू

जनप्रतिनिधिलाई कांग्रेसको निर्देशन- जनयुद्ध दिवसलाई संविधानले चिन्दैन, सार्वजनिक बिदा नदिनू

काठमाडौं । रुकुम पश्चिमका दुई स्थानीय तहले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि विवाद सुरु भएको छ ।

पार्टीबाट निर्वाचित बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार वाँठा मगरले पालिकाभर भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । उनी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको थियो । सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चले जनयुद्ध दिवसलाई संविधानले नचिन्ने भन्दै बिदा खारेज गरिदिएको थियो । यद्यपि माओवादी केन्द्रबाट निर्वाचित केही स्थानीय तहले पालिकास्तरीय निर्णय भन्दै भोलि बिदाको घोषणा गरेका छन् ।

आफ्नै पार्टीबाट निर्वाचित अध्यक्षले पालिकामा बिदा दिएपछि कांग्रेस जिल्ला कार्यसमिति, रूकुम पश्चिमले एक विज्ञप्ति जारी गर्दै बिदा नदिन र कार्यक्रममा उपस्थित नहुन निर्देशन दिईएको छ ।

जिल्ला सभापति प्रेम प्रकाश ओलीले विज्ञप्ति निकाल्दै मुसिकोटका नगर प्रमुख, बाँफिकोट गाउँपालिका अध्यक्ष, मुसिकोट नगरपालिका वडा नं १, २, ३, ५, ८ र १४ का वडा अध्यक्ष, चौरजहारी नगरपालिका वडा नं ६, ९ र १४ का वडा अध्यक्ष, आठविसकोट नगरपालिका वडा नं ६, ९ र ११ का वडा अध्यक्ष, त्रिवेणी गाउँपालिका वडा नं ३, ४, ८ र ९ का वडा अध्यक्ष, सानीभेरी गाउँपालिका वडा नं ४ र ५ का वडा अध्यक्ष र बाँफिकोट गाउँपालिका वडा नं २ र ५ का वडा अध्यक्षहरुाई सो निर्देशन दिएका हुन् । यी सबै जनप्रतिनिधि गत निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

सानीभेरी गाउँपालिका र बाँफिकोट गाँउपालिकाले भोलि बिदा दिने भन्दै गरेको निर्णयले नेपालको संविधान र सर्वोच्च अदालतको २०७२ भदौ ९ गते, २०८० पुस १३ गते र २०८१ मंसिर २६ गतेको संबैधानिक इजलासको आदेश विपरित भएको कांग्रेसको भनाइ छ । उक्त निर्णयले नेपालको संविधान र कानुनको खिल्ली उडाएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।

‘रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको मिति २०८१ र १० र ११ गते को कार्यपालिकाको निर्णय र बाँफिकोट गाँउपालिकाको मिति २०८१-१०-२७ गतेको कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवस मनाउने भनि गरिएको निर्णयले नेपालको संविधान र सर्वोच्च अदालतको मिति २०७२ भदौ ९ गते, २०८० पुस १३ गते र २०८१ मंसिर २६ गतेको संबैधानिक इजलासको आदेश विपरित पालिकाले गरेको निर्णयले नेपाली काँग्रेसको ध्यानाकर्षण भएको छ । उक्त निर्णयले नेपालको संविधान र कानुनको खिल्ली उडाएको छ । हाम्रो पार्टी नेपालको संविधान र कानुनको परिपालक भएको हुँदा उक्त पालिकाको निर्णयका विरुद्ध हाम्रो पार्टी नेपाली काँग्रेसबाट निर्वाचित नगर, गाउँ र वडा अध्यक्ष ज्यूहरुलाई फागुन १ गते सार्वजानिक विदा नरहेको भनि सम्बन्धित वडा र पालिकाबाट सुचना प्रवाह गर्नुहुन र गराउन सबैलाई जानकारी गराईन्छ’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार