काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
नेपाल मुस्लिम संघले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा देउवाले वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्नुपर्ने बताए ।
शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको बताए । अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए ।
देउवाले कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सवैको प्रतिनिधित्व रहेको जिकिर गरे ।