दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे आयाेजनामा पत्रकारहरूलाई डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सुरु गरेको छ ।
शुक्रबारदेखि अर्घाखाँचीकाे सितगंगा नगरपालिका–८, सातमारामा शुरू भएकाे तालिममा दाङ, कपिलवस्तु र अर्घाखाँचीका ४० भन्दा बढी पत्रकार सहभागी छन् । तालिममा डिजिटल माध्यम र एआईको प्रयोगमार्फत समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका आधुनिक प्रविधिबारे प्रशिक्षण दिइने महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो ।
प्रशिक्षकका रूपमा जीवन भण्डारी र किरण कौशल रहनुभएकाे छ । उहाँहरूले पत्रकारितामा एआईको भूमिका, समाचारको तथ्य जाँच, मोबाइल पत्रकारिता, सामग्री व्यवस्थापन प्रणाली, सामाजिक सञ्जालको सदुपयोगलगायत विषयमा प्रशिक्षण दिइरहनु भएको छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन महासचिव पाण्डव शर्माले गर्नुभएकाे थियाे । तालिमको विषयमा उपाध्यक्ष रामप्रसाद आचार्यले प्रकाश पार्नुभयो भने अर्की उपाध्यक्ष मीना ढकालले स्वागत मन्तव्य दिनुभयो ।
प्रदेश समिति संयोजकका अनुसार तालिम प्रदेशका १२ जिल्लाका पत्रकार समेट्ने गरी ६ स्थानमा आयोजना गरिँदैछ ।