जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जिल्लाको नलगाड नगरपालिकाका विद्यालय तथा बालविकास केन्द्रलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
आज नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच वडा नं १ देखि ७ सम्मका २३ वटा बालविकास केन्द्रलाई सिकाइ सामग्री तथा १३ वटा विद्यालयलाई बसाइ व्यवस्थापन सामग्री वितरण गरिएको हो ।
नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले वितरण गरिएका सामग्रीले बालबालिकाको सिकाइ वातावरण सुधार गर्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै मञ्चका अध्यक्ष पन्तले शिक्षाको गुणस्तर सुधार गर्दै बालबालिकालाई सहज र प्रभावकारी सिकाइ वातावरण उपलब्ध गराउने उद्देश्यले सामग्री सहयोग गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र बाल विकासका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।


