मुसिकोट । रुकुम पश्चिममा खोलाले दुई जनालाई बगाएको छ । बगाएको मध्य एक जनाको उद्धार भएको छ भने एक जना बेपत्ता रहेका छन् ।
जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ४ स्थित तिल्चा खोलाले दुई जनालाई बगाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मंगलबार दिउँसो रा. ६ प. १६१८ नम्वरको मोटरसाईकलसहित दुई जनालाई खोलाले बगाएको हो ।
खोलाले बगाएका मध्य चालक समेत रहेका मुसिकोट नगरपालिका ४ निवासी १८ वर्षीय प्रशान्त सन्यासी बेपत्ता भएको डिएसपी पौडेलले जानकारी दिनुभयो ।
सोहि मोटरसाईकलको पछाडी सवार रामेछापको गोकुलगंगा गाउँपालिका १ निवासी १८ वर्षीय प्रविण बस्नेत भने खोलाको बिचमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला पारिएको छ । बस्नेतलाई प्रहरी र स्थानीयले उद्धार गरेका छन् ।
मुसिकोट देखि कुनाखेत हुँदै बाँफिकोटतर्फ जाने क्रममा मोटरसाईकलसहित उनीहरुलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलामा बेपत्ता सन्यासीको खोजी कार्य तिब्र पारिएको छ ।

