मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५, खहरेबाट अवैध रूपमा कटान गरी चिरान गरिएको ५० थान काठ बरामद गरिएको छ ।
डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार बरामद काठमध्ये साल प्रजातिका चिरान काठ ३८ थान, हर्रो प्रजातिका चिरान काठ ११ थान र एक थान गोलिया काठ रहेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार बिहीबार राति अवैध रूपमा कटान तथा चिरान गरिएको काठ बरामद गरिएको हो ।
कार्यालयलाई प्राप्त गोप्य सूचनाका आधारमा वन अधिकृत सुनिल कमल कँडेलको नेतृत्वमा १२ जना वन कर्मचारी परिचालन गरी काठ बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको भए पनि उनीहरू फरार रहेको प्रमुख परियारले बताउनुभयो । फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ ।

