आश्विन ७,धादिङ — वर्षका ११ महिना सुतेर बस्ने चितवनस्थित ठेकेदार कम्पनी जीएमआर यतिबेला भने नौबिसे–नागढुंगा सडक मर्मत गर्दैछ । गत असार मसान्तमै बिग्रेको सडक मर्मत गरिसक्नुपर्ने उक्त कम्पनीले दसैं अगावै दैनिक उपभोग्य सामाग्री राजधानी भित्रिने बेला मर्मतमा जुटेको छ । गत असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मत काम सकाउनुपर्ने भएपनि मर्मत नसकिएकाले हतार–हतारमा टालटुल गर्न थालिएको हो । नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा चितवनस्थित जीएमआर कन्स्ट्रक्सनले पाएको छ । चाडपर्वमा नागरिकका गुनासो बढ्न थालेपछि बााध्य भएर खाल्डाखुल्डीमा कालोपत्रे हाल्न थालिएको हो । बढी जाम हुने पीपलामोड, खत्रीफौवा, सित्रेखोला, झ्याप्लेखोला, टायलघरलगायतका मोडका खाल्डाखुल्डी टालिएका छन् ।
चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी गरी मर्मत थालिएको भने पनि यात्रुहरु घण्टौं जाममा बस्नुपरेको छ । नौबिसे–नागढुंगा खण्डमा हुने सवारी जाम व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मेहम्मे पर्न थालेको छ । ‘सवारी साधनलाई असहज नहुने गरी ठेकेदारलाई परिचालन गरेका छौं,’ अधिकारीले भने, ‘यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सडक मर्मतको कार्य छिटो सकाउनेछौं ।’
‘सवारी जाम घटाउन लामा मालवाहक सवारी साधनलाई मंगलवार देखि नै दिनभर जिल्लामै रोक्ने र नोओभरटेक जोन मंगलबारबाटै लागु गर्न निर्देशन दिएका छौं,’ प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने ।
‘अत्यधिक वर्षातका कारण असार महिनामा काम गर्न सकिएन । वर्षात नभए बिहीबारसम्म मर्मत सकिन्छ,’ सडक मर्मत गर्ने जिम्मा लिएको निर्माण कम्पनीका संचालक गणेश पाण्डेले दावी गरे । गत शुक्रबार देखि थालनी गरिएको सडक मर्मतले धादिङ तर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ ।
![](https://i0.wp.com/assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2019/miscellaneous/highway-jam-dhading-4-2492019061309-1000x0.jpg?w=640&ssl=1)
दसैं–तिहार नजिकिँदै आए पछि राजधानी छिर्ने मालवाहक सवारी साधन र अन्य गाडीहरुको चाप यसै पनि बढ्छ । राजधानी काठमाडौंबाट बाहिरिने र छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत गरेको वर्षदिन टिक्दैन । अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै जीर्ण हुन थाल्छ । हरेक वर्षका चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर, खाल्डा पुरेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन । मापदण्ड विपरित भार बोकेका मालवाहक साधनहरुले साना गाडी सडकमा गुड्न नमिल्ने गरी भत्काउन सुरु गर्छन् ।
दसैं–तिहारमा दैनिक १२ हजार देखि १८ हजार सवारीसाधन र मालवाहक गाडी राजधानी भित्रिन्छन् । दैनिक १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन् । तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका भारतीय मालवाहक गाडी हुन्छन् ।
उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ । जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता भएको धादिङका पत्रकार राजाराम शर्मा बताउँछन् । ‘दैनिक हजारौं सवारीसाधन चल्ने यो सडकको अवस्था कमजोर छ,’ उनले भने, ‘नेपालको सबैभन्दा पुरानो राजमार्गको यो खण्ड स्तरोन्नतिमा सरकारको ध्यान जान सकेको छैन ।’ नौबिसे–नागढुंगा १५ किमी खण्ड त्रिभुवन राजपथमा पर्छ ।
त्रिभुवन राजपथको भारवहन क्षमता दस टन बराबर छ । तर १५ देखि ४० टनसम्म भार बोकेका गाडी यो सडक भएर काठमाडौं छिर्छन् । यसै कारण देब्रे लेनमा बढी असर परेको हो। रातको समयमा चल्ने टिपरले पानी चुहाउँदै बालुवा बोक्ने भएकाले पनि सडक बिग्रने समस्या झनै बढेको हो ।
नौबिस भएर काठमाडौं पस्ने उकालो देब्रे लेन विभिन्न स्थानमा खाडल पर्दा निकै जीर्ण छ । मालवाहक हेभी गाडी यही लेन भएर काठमाडौं छिर्छन् । हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन विभिन्न स्थानमा धस्सिदा खाल्डा बनेर साना सवारी साधानहरु लाई सडक प्रयोग गर्न नमिल्ने बनाएका हुन् ।
चाँडचाँडै बिग्रिने यो सडकखण्डलाई अन्य समयमा बेवास्ता गरे पनि दसैं–तिहारका बेला भने टालटुल गरिन्छ । टालटुल गर्ने यो चलन नयाँ पनि होइन । गत वर्ष पनि दसैं आउनुपूर्व खाल्डाखुल्डी पुरिएको थियो । यो वर्ष पनि त्यस्तै भइरहेको छ ।ekantipur