धनगढी : धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका दुई हजार भन्दा बढी बालबालिकालाई शैक्षिक सामग्री सहितका झोला हस्तान्तरण गरिएको छ।
धनगढी उपमहानगरपालिका र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), सफा सुनौलो नेपालको समन्वय र चाइना फाउन्डेसनको आर्थिक सहयोगमा दुई हजार १ जना विद्यार्थीलाई झोला र पाठ्य समग्री वितरण गरिएको हो।
झोला लगायत सामग्री रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका थिए।
झोला वितरण गर्न डाक्टर देउवा धनगढी उपमहानगरपालिका १ को सरस्वती आधारभूत विद्यालय र वडा नं ३ को त्रिभुवन माध्यामिक विद्यालय बोराडाडीमा पुगेकी थिइन्।
बुधबार दुई विद्यालयबाट सुरु गरिएको झोला वितरण अरु १३ विद्यालयमा पनि हुनेछ। कार्यक्रम अन्तर्गत उपमहानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका १५ सामुदायिक विद्यालयका बालबालिकालाई झोला तथा पाठ्यसामग्री हस्तान्तरण गरिने कांग्रेस नेतृ देउवाले बताइन्। सामुदायिक विद्यालयका बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा राखेको देउवाको भनाई छ।