कृषि ज्ञान केन्द्र सोलुखुम्बु द्धारा कृषियन्त्र वितरण

कृषि ज्ञान केन्द्र सोलुखुम्बु द्धारा कृषियन्त्र वितरण

सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले किसानहरुलाई विभिन्न आधुनिक कृषियन्त्र वितरण गरेको छ । केन्द्रले ९९ जना किसानलाई हाते ट्र्याक्टर, ३१ जना कृषकलाई धान तथा गहुँ चुट्न प्रयोग हुने थ्रेसर मेसिन, १३ जना कृषकलाई धान, गहुँ तथा घाँस काट्न प्रयोग गरिने ब्रस कटर वितरण गरिएको हो । यस्तै केन्द्रले ५ जनालाई मकै छोडाउने मेसिन, ४ जनालाई विद्युतीय पाइडल थ्रेसर मेसिन वितरण गरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुलबहादुर राईले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहका गरी १ सय ५२ जना किसानलाई विभिन्न मेसिन प्रदान गरिएको राईको भनाइ छ । योङ्ग स्टार क्लबको मैदानमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ती उपकरणहरु किसानलाई हस्तान्तरण गरेका थिए ।

कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानीमा ती उपकरणहरु वितरण गरिएको हो । कृषिमा यन्त्रीकरण गर्ने योजनाअन्तर्गत हाते ट्र्याक्टरलगायत यन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कुल बहादुर राईले बताए । १ सय ५२ जना किसानलाई १ करोड १७ लाख ३ हजारको कृषि औजार वितरण गरेको उनको भनाइ छ । यसमध्ये ज्ञानकेन्द्रले ६६ लाख ३३ हजार अनुदान र बाँकी ३५ लाख ४० हजार किसानले व्यहोरेका छन् । यो अनुदान रकम प्रदेश सरकारको हो ।

यो वर्ष १ सय ९३ जनाले आवेदन दिएको र सम्पर्कमा १ स्य ५९ जना आएको ज्ञान केन्द्रले जनाएको छ । १ सय ५९ जनामध्ये ७ जनाले पहिले नै पाइसकेकाले उनीहरुको नाम हटाएर १ सय ५२ जनालाई औजार वितरण गरिएको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार