रुकुम पश्चिममा थप १५ दिन निषेधाज्ञा जारी

रुकुम पश्चिममा थप १५ दिन निषेधाज्ञा जारी

मुसिकोट । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रुकुम पश्चिममा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । कोरोनाको महामारी नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले गरेको सिफारीस अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा थप १५ दिन निषेधाज्ञा जारी गरेको हो ।

जेठ ७ गते राती १२ बजेदेखि जेठ २२ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । कोरोनाको दोस्रो कहर सुरु भएपछि बिहिबार सम्म रुकुम पश्मचममा कुल १ हजार ३ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणकै कारण अहिलेसम्म १७ जनाको ज्यान गैसकेको छ । जिल्लामा हाल ५ सय १६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

निषेधाज्ञा थप भएपछि अत्यावश्यकिय सेवा र राष्ट्रिय गौरवका आयोजना लगायत बिभिन्न सार्वजनिक निर्माणका कार्यहरु बाहेक अन्य सेवा ठप्प रहने बताईएको छ । यस बाहेक एम्बुलेन्स, शववाहन तथा अत्यावश्यक सवारी साधनहरु भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर संञ्चालन हुन पाउने छन् ।

अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन, चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय जान आउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने प्रेसपास तथा परिचयपत्रवाहक सञ्चारककर्मीले चढेका सवारी साधनहरू सञ्चालन हुन पाउने प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार