मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन जिल्ला सदरमुकाम मुसिकोटमा सुरु भएको छ । पूर्व राज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता गोपाल जि जंग शाहले एक औपचारिक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन गर्नुभएको हो । उहाँले पानसमा बत्ति बालेर र गमलामा पानी हालेर अधिवेशनको उद्घाटन गर्नुभएको हो ।
अधिवेशनको अगाडि बृहत ¥यालि तथा बाजागाजा सहित सदरमुकामको बजार परिक्रमा गरिएको थियो । लगत्तै बराहटाकुरा स्थित कार्यक्रम स्थलमा औपचारिक कार्यक्रमको सुरुवात गरिएको नेपाली काँग्रेसका सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।
अधिवेशनको उद्घाटन सत्रमा जिल्लाका ६ ओटा पालिकाहरुबाट क्षेत्रिय प्रतिनिधि तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा १ हजार २ सय ४४ क्षेत्रिय प्रतिनिधि सहित ३ हजार कार्यकर्ताको उपस्थिति रहेका काँग्रेस रुकुमले जनाएको छ । उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरुले समहमतिबाटै काँग्रेस रुकुमको नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् ।
उद्घाटन कार्यक्रम आजै सकेर बन्द सत्र समेत प्रारम्भ गरिने सभापति ओलिले बताउनुभयो । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमिति चयन गर्नेछ । यस अधिवेशनले ३७ सदस्यीय जिल्ला कार्यसमिति, २५ जना महाधिवेशन प्रतिनिधि, ३४ जना प्रदेश प्रतिनिधि चयन गर्ने जनाईएको छ ।
उद्घाटन सत्रमा प्रत्येक पालिकाबाट आएका बिभिन्न झाँकि तथा साँस्कृतिक प्रस्तुतीहरु राखिएको थियो ।