रामचन्द्र पौडेलले शेखर कोइरालालाई सघाउन सक्ने, तर मतदानमा भाग नलिने

रामचन्द्र पौडेलले शेखर कोइरालालाई सघाउन सक्ने, तर मतदानमा भाग नलिने

कांग्रेसको नयाँ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेल मतदान प्रक्रियामा सहभागी नहुने भएका छन्।  नयाँ नेतृत्वको प्रतिस्पर्धामा सहभागी नहुने घोषणा गरेका पौडेलले कांग्रेसको जारी निर्वाचन अन्तर्गत हुने मतदान प्रक्रियामा सहभागी नहुने भएका हुन्।

पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार यो निर्णयसँगै उनी महाधिवेशनमा कुनै गतिविधिमा संलग्न हुने छैनन्।  यसअघि आफ्नो समूहमा आएको विभाजनका कारण तनावमा परेका उनी शुक्रबार भएको महाधिवेशन उद्घाटन कार्यक्रममा पनि आउन मानेका थिएनन्।
तर उनीनिकट नेताहरुले समूह विभाजन नहुने आश्वासनसहित बोहोराटारबाट भृकुटीमण्डपमा ल्याएका थिए।  पौडेलनिकट एक सहयोगीका अनुसार उनले अब नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धाका क्रममा आफ्नै समूहका डा. शेखर कोइरालालाई सघाउने मनस्थिति बनाएका छन्। तर यसबारे उनले निर्णय लिइसकेका छैनन्।

‘उहाँनिकट नेताहरु कोइराला प्यानलमा अटाउनु भएको छ। इतर समूहको संस्थापन पनि कोइरालाकै प्यानल हो’, उनीनिकट एक नेताले भने, ‘मतदान प्रक्रियामा सहभागी नभए पनि उहाँले कोइराला प्यानललाई सघाउन सक्ने सम्भावना छ।’

पौडेलले पटक पटकको वार्ताबाट पनि आफ्नै समूहका प्रकाशमान सिंह सहमतिमा आउन नमानेको निष्कर्ष पनि निकालेका छन्। सहमति गर्न खोज्दा खोज्दै आफ्नो समूहबाट विद्रोह गरेर सिंहले छुट्टै टीम खडा गरेको पौडेलले निचोड निकालेका छन्।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले आइतवार बिहानसम्म कसलाई सघाउने भन्ने ठोस निर्णय हुने नेपालखबरलाई बताएका छन्।  पौडेलले आफ्नो समूहबाट एकजनालाई सभापतिमा उठाउन चाहेका थिए। सर्वसम्मत भएको अवस्थामा आफैं पनि सभापतिमा उठ्न उनी लालायित थिए।

तर प्रकाशमान र शेखरले एकअर्काको अस्तित्व स्वीकार्न नसकेपछि कांग्रेसको इतर समूह विभाजित र छिन्नभिन्न भएको छ। यो अवस्थामा वरिष्ठ नेता पौडेल निराश भएर बोहोराटारस्थित निवासमै बसेका छन्।

भृकुटीमण्डपमा उम्मेदवारी दर्ता चलिरहेका बेला उनले शनिबार दिउँसो विज्ञप्ति जारी गरी आफू प्रतिस्पर्धाबाट अलग भएको जानकारी गराएका थिए। आफ्नै समूह विभाजित भएर सभापतिमा प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेदवारी दिएपछि निराश पौडेल नयाँ नेतृत्वको प्रतिस्पर्धाबाट पछि हटिसकेका छन्।
(नेपालखबर बाट साभार)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार