चैत २९ काठमाडौं
भारतसँग सीमा जोडिएको बैतडी जिल्लाको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ ।
दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत हुनुहुन्थ्यो ।
प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभएको छ ।
३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा जोशीको भनाइ रहेको छ ।
प्रहरी जवानको ‘थ्रोट स्वाब’ सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको अस्पतालले जनाएको छ । यसअघि पनि जिल्ला अस्पताल बैतडीमा दुई जनालाई कोरोनाको आशङ्कामा आइसोलेसनमा भर्ना गरिएको थियो । परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।
बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले लकडाउनका बेला पनि अवैधरुपमा महाकाली नदीमा ट्युबमा तरेर आउनेक्रम नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ ।