दुई वर्ष भित्र खरका छानामुक्त घर बनाउने सानीभेरी गाउँ कार्यपालिकाको निर्णय

दुई वर्ष भित्र खरका छानामुक्त घर बनाउने सानीभेरी गाउँ कार्यपालिकाको निर्णय

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अन्तर्गत गाउँ कार्यपालिकाको पहिलो बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । पदभार ग्रहण गर्दा घोषणा गरिएका निर्णय आइतबार बसेको गाउँ कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

जसमा लक्षित समुदाय, गरिव, दलित र अल्पसंख्यक समुदायका विद्यार्थी छनौट गरी छात्रबृत्ती प्रदान गर्ने, सहकारी मार्फत प्रत्येक वडामा सुपथ मूल्यको पसल संचालन गर्ने, २ वर्ष भित्र गाउँपालिकाका सबै खरका छानामुक्त गरी जस्ता वा ढुङ्गाका छाना हाल्ने र लक्षित समुदाय¸ गरीब अति विपन्न व्यक्तिहरुलाई स्वास्थ्य बीमा प्रदान गर्ने निर्णय गरेका छन् ।

त्यस्तै आकस्मिक दुर्घटनामा परेका¸ सुत्केरी महिला तथा गरिवीको रेखामुनी परेका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र विवाह नगरी ४० वर्ष उमेर काटेका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गाउँ कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ । जसअन्तर्गत लेखा समिति संयोजकमा टेक बहादुर पुन, विधायन समिति संयोजकमा कुल बहादुर बुढा, शुसासन समिति संयोजकमा जगदिश नकाल, आर्थिक विकास समिति संयोजकमा भूपाल सिं ओली, सामाजिक विकास समिति संयोजकमा शेरबहादुर खड्का र पूर्वाधार विकास समिति संयोजकमा सेते कामी रहनुभएको छ ।

वातावरण तथा विपद व्यवस्थापन समिति संयोजकमा पहल सिं घर्ती, संस्थागत विकास तथा शुसासन समिति संयोजकमा टिकाराम खड्का, राजस्व परामर्श समिति संयोजकमा कमला रोका पुन, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति संयोजकमा बिर्खबहादुर विष्ट, बजेट तथा कार्यक्रम तर्जुमा समिति, न्यायिक तथा अनुगमन समिति संयोजकमा कमला रोका पुन र गाउँ कार्यपालिकाको प्रवक्तामा पहल सिं घर्तीमगर चयन हुनुभएको छ ।

गाउँपालिका भित्रको शैक्षिक क्षेत्र सुधारका लागि भुपालसिं बिष्टको संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन गरिएको सानीभेरी गाउँपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार