रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको प्रहरीको भ्यान दुर्घटना भएको छ ।
जीप दुर्घटनामा परि नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीसहित चार जना घाइते भएका छन ।
घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दैछ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीलाई टाउकोमा चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले भएका छन
यस्तै दुर्घटनामा सशस्त्र प्रहरी बल रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक (डिएसपी) रविन श्रेष्ठ घाइले हुनु भएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार थिए ।
अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो । घटनाको थप विवरण आउँन बाँकी छ ।