म कुनै ठुलठुला योजना देखाएर मत माग्ने पक्षमा छैन् : स्वतन्त्र उम्मेदवार केसी

म कुनै ठुलठुला योजना देखाएर मत माग्ने पक्षमा छैन् : स्वतन्त्र उम्मेदवार केसी

मुसिकोट । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार तारक केसीले सिण्डिकेट र मोलमोलाइबाट नेपालका राजनीतिक दलहरु अगाडी बढिरहेकोले राजनीतिप्रति नागरिकमा वितृष्णा बढिरहेको बताउनुभएको छ ।

आज मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफुले जनतालाई कुनै ठुला आश्वासन नदिने बताउनुभएको छ । उहाँले भन्नुुभयो म कुनै ठूला आश्वासन दिने र ठुलठुला योजना देखाएर मत माग्ने पक्षमा छैन् ।

उहाँले जिल्लाको ऐतिहासिक स्थान खाराबाट शान्तिको परेवा उडाएर चुनावी प्रचार गर्ने बताउनुभएको छ । खारा विगतको सशस्त्र द्वन्द्वले नराम्ररी पीडा दिएको एक ऐतिहाँसिक ठाउँ भएकोले दिगो शान्ति र समृद्धिको सन्देश सहित चुनावी अभियानमा होमिन लागेको उहाँले जानकारी दिनुभयो ।

केसीले आफ्नो उम्मेदवारी शान्ति, विकास, समृद्धि र शुसासनका लागि भएको स्पष्ट पार्नुभयो । दलहरुले दिने फोस्रा नाराबाट जनता आजित भएको बताउनुहुँदै केसीले महंगा नारा र चर्को भाषण भन्दा पनि आफूले दिगो विकास र समान अस्तित्वको लागि उम्मेवारी दिएको उल्लेख गर्नुभयो ।

गलत आश्वासन दिएर पदमा पुगेकाहरुले जनतालाई पटक पटक धोका दिईरहेकोले जनताले त्यसको विकल्प खोजिरहेको उहाँले बताउनुभयो । कुनै दल र उम्मेदवारप्रति मेरो टिप्पणी छैन, केसीले भन्नुभयो, जनताको मनमा बस्ने गरी काम गर्ने मन छ, ठुला योजनाहरुको आश्वासन देखाउदिन, काम गरेर देखाउछु ।

जिल्लामा महत्वपूर्ण विभिन्न आयोजनाहरु लामो समयसम्म अपलत्र परेको उदाहरण दिनुहुँदै उहाँले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिद्युत, कृषि, स्वरोजगार लगायतका क्षेत्रमा आफू दत्तचित्त भएर लागिपर्ने बताउनुुभएको छ ।

प्रतिनिधि सभामा रुकुम पश्चिमबाट केसीसँगै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, राप्रपाका दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुन र स्वतन्त्रबाट राजन पाण्डे प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार