रुकुम पश्चिम । गत स्थानीय तह निर्वाचनमा कर्णालीका सबै जिल्लामा कांग्रेस–माओवादीबीच गठबन्धन बने पनि रुकुम पश्चिममा भएन । कांग्रेसले एमालेसँग सहकार्य गर्यो भने माओवादीले एकीकृत समाजवादीसँग । गठबन्धन त भएन नै, दुई पार्टीबीच दिनहुँ झडप हुँदा ३२ जना घाइते भए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय निर्वाचन अवधिभरि कांग्रेस–माओवादीबीच १९ ठाउँमा झडप भएका थिए । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बेला पनि जिल्लाभर ३४ वटा झडप भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । त्यसबेला पनि ४७ जना घाइते भएका थिए ।
प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताअघि रुकुम पश्चिममा सत्ता गठबन्धन दलबीच झन्डै एक दर्जन बैठक भए । सबै बैठक निष्कर्षविहीन भएपछि कांग्रेसले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दियो । जबकि गठबन्धनको निर्णयअनुसार सबै सिट माओवादी केन्द्रको भागमा परेको थियो । पार्टीका केन्द्रीय नेताहरूको दबाबपछि मनोनयन फिर्ता लिने दिन अबेर मात्र कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपाली र कांग्रेस प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले उम्मेदवारी फिर्ता लिए । जिल्ला सभापति प्रेमप्रकाश ओलीको उम्मेदवारी भने बैंकिङ कसुर लागेको भन्दै खारेज भयो । उम्मेदवारी फिर्ता लिएपछि कांग्रेस नेताहरू झन्डै दुई साता मौन बसे । अहिले भने उनीहरू दुई पार्टीबीचको वर्षौंदेखिको वैमनस्य भुलेर संयुक्त चुनावी प्रचारमा हिँडिरहेका छन् ।
‘दुई पार्टीबीच द्वन्द्वकालदेखि नै बेमेल थियो, अरू जिल्लाभन्दा यहाँको राजनीति फरक पनि छ,’ स्थानीय अगुवा बेगम केसीले भने, ‘त्यसैले स्थानीय चुनावमा यहाँ गठबन्धन भएन, अहिले एक तहका नेताहरू माओवादीको चुनावी कार्यक्रममा हिँड्दा पनि दोस्रो तहका कांग्रेस नेताहरू त्यसको विरोधमा छन् ।’
रुकुम पश्चिममा गठबन्धनको चुनाव प्रचारमा कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपाली, पूर्वराज्यमन्त्री गोपालजीजंग शाहलगायत नेताहरू सक्रिय छन् । गठबन्धनले निर्वाचन परिचालन समितिको संयोजक पनि शाहलाई बनाएको छ । तर कार्यकर्ता भने उनीहरूसँग रुष्ट छन् । एक साताअघि चौरजहारीस्थित चिन्नेबगरमा गठबन्धनको चुनावी सभामा गएका नेताहरूलाई तरुण दलका कार्यकर्ताहरूले कालोझन्डा देखाएका थिए भने कालोमोसो दल्ने प्रयास गरेका थिए ।
‘एक तहका नेताहरू पार्टीका केन्द्रीय नेताहरूको दबाबमा माओवादीको चुनाव प्रचारमा हिँडिरहेका छन् । तर कार्यकर्तामा उनीहरूप्रति आक्रोश छ,’ जिल्लाका एक सुरक्षा अधिकारीले भने, ‘रुकुमका लागि अरू सुरक्षा चुनौती केही छैन, कार्यकर्ताहरूले केही घटना गराउँछन् कि भनेर सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ ।’ उनका अनुसार यसअघि बढी झडपका घटना भएका आठबीसकोट, चौरजहारी र त्रिवेणीका विभिन्न ठाउँमा सुरक्षा निगरानी बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले दुवै राजनीतिक दलबीच मिलाप हुँदा यो निर्वाचनअघिसम्म कुनै अप्रिय घटना नभएको बताए । उनका अनुसार स्थानीय निर्वाचनका बेला दिनहुँजसो झडप हुन थालेपछि बाहिरबाट समेत प्रहरी मगाएर स्थिति नियन्त्रण गरिएको थियो । ‘चुनावी माहोल हेर्दा रुकुममा सबैभन्दा शान्तिपूर्ण अवस्था अहिले छ, सुरक्षा चुनौती नहुँदा पनि यसपालि चुनाव शान्तिपूर्ण हुने हाम्रो अपेक्षा छ,’ उनले भने ।
माओवादीले रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ उपमहासचिव जनार्दन शर्मालाई उम्मेदवार बनाएको छ । रुकुममा माओवादी–कांग्रेसबीच सशस्त्र द्वन्द्वदेखि नै ‘शत्रुता’ सुरु भएको हो । द्वन्द्वको समयमा कांग्रेसका ८६ र माओवादीका झन्डै ६ सय जनाले ज्यान गुमाएका थिए भने झन्डै १९ हजार विस्थापित र घाइते भए ।
साविक स्थानीय शान्ति समितिका अनुसार घाइते हुने, अपांग, विस्थापितलगायत द्वन्द्वपीडितको संख्या झन्डै १२ हजार छ । जसका कारण पनि एकअर्काले आफ्नो पार्टीको क्षतिको दोष अर्को पार्टीलाई दिँदा दुई पार्टीबीच लामो समयदेखि ‘तुस’ र आरोप–प्रत्यारोप देखिएको कांग्रेस नेता शिव आचार्य बताउँछन् । ‘हामीले उनीहरूलाई र उनीहरूले हामीलाई विभिन्न आरोप लाउँदालाउँदै ठूलो खाडल बन्यो, त्यो खाडल केही हदसम्म यो चुनावले पुरे पनि केही कैफियत कायमै छन्,’ उनले भने, ‘केन्द्रीय गठबन्धनका कारण कांग्रेस कार्यकर्ताहरू भने असन्तुष्ट छन् ।’
अधिकारकर्मी चन्द्रबहादुर केसी भने द्वन्द्वको उद्गमथलो भएका कारण जिल्लामा दुई पार्टीबीच सुरुदेखि नै बेमेल बढेको बताए । ‘द्वन्द्वमा दुवै पार्टीले ठूलो क्षति व्यहोरे, त्यो क्षतिको दोषारोपण एकअर्कामा भइरह्यो,’ उनले भने, ‘एमालेको प्रभाव न्यून भएकाले प्रतिद्वन्द्वी पनि दुईवटै पार्टी हुँदा कार्यकर्ता विभाजित भए, जसले अझैसम्म पनि वैमनस्यता छ ।’
कांग्रेसका गोपालजीजंग शाहले प्रतिनिधिसभा सदस्यका रूपमा लामो समय रुकुमको राजनीतिक नेतृत्व सम्हाले भने अहिले एकीकृत माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा लगातार ३ पल्ट सांसद बने । उनी चौथोपल्ट चुनावी प्रतिस्पर्धामा छन् । अहिले रुकुमको राजनीतिमा रोचक के छ भने यसअघिका प्रतिद्वन्द्वी एकआपसमा अंकमाल गर्दै चुनाव प्रचारमा हिँडिरहेका छन् । पहिलोपल्ट शाह र शर्माबीच २०४८ सालदेखि नै चुनावी प्रतिस्पर्धा सुरु भएको हो ।
पहिलो निर्वाचनमा तत्कालीन जनमोर्चाबाट उम्मेदवार बनेका शर्मालाई हराएर शाह निर्वाचित भए । २०६४ सालयता पनि शर्मा र शाहबीच ३ पल्ट प्रतिस्पर्धा भयो । सबै निर्वाचनमा शर्मा विजयी बने भने शाह निकटतम् प्रतिस्पर्धी । शर्मा २०६४ सालमा २२ हजार ५ सय ७५, २०७० मा ३० हजार २ सय ७० र २०७४ सालमा ३४ हजार ४ सय २ मतसहित विजयी भएका थिए ।
स्थानीय तहको परिणामअनुसार रुकुम पश्चिममा माओवादीले ३७ हजार, कांग्रेसले २६ हजार र एमालेले ६ हजार मत पाएका थिए । यो निर्वाचनमा ९२ हजार ३ सय ४७ मतदाता छन् । कांग्रेस नेता शाहले पार्टी केन्द्रको निर्णय र द्वन्द्वको समयदेखि दुई पार्टीका कार्यकर्ताबीचको आपसी ‘तुस’ मेटाउन गठबन्धनको चुनावी सभामा सक्रिय भइरहेको बताए । ‘हाम्रो चुनावी अभियानले शान्ति र एकताको सन्देश दिइरहेको छ,’ उनले भने, ‘यसले विगत द्वन्द्वसँगको समस्या हल गर्न मद्दत पुर्याउनेछ ।’ माओवादी जिल्ला संयोजक सचिन रोकाले दुई पार्टीबीच चुनावी एकताले परिवर्तन, शान्ति र राजनीतिक स्थिरताको सन्देश दिएको बताए ।
शर्मालाई देवकोटा र केसी चुनौती
योपल्ट रुकुम पश्चिममा आफ्नो अविजित जित दोहोर्याउने दाउमा शर्मा छन् । तर उनलाई एमालेका उम्मेदवार नन्दराम देवकोटा र स्वतन्त्र उम्मेदवार तारक केसीले चुनौती दिएका छन् । निवृत्त हुनै लागेको शिक्षण पेसाबाट राजीनामा दिएर एक वर्षअघि मात्र एमालेको जिल्ला अध्यक्ष बनेका देवकोटा जिल्लामा लोकप्रिय मानिन्छन् । उनी एक कार्यकाल साविक बाँफिकोट गाविस अध्यक्ष भएका थिए । देवकोटाले पहिलेको निर्वाचनभन्दा एमालेको संगठन अहिले तलसम्म मजबुत भएकाले आफूले जित्ने दाबी गरे । ‘सांसद पद कसैको स्थायी होइन, यसअघि अरूलाई जिताएर जनताहरू जनमैत्री काम नहुँदा दिक्क भइसकेका छन्,’ उनले भने, ‘जनतालाई नयाँ टेस्ट र विकल्प चाहिएको छ, त्यो मबाट मात्र सम्भव छ ।’
केसी भने कांग्रेसको सक्रिय राजनीतिबाट अलग हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् । उनी नेविसंघका केन्द्रीय सदस्यसमेत भइसकेका व्यक्ति हुन् । केसीले कांग्रेसको उम्मेदवार कोही नभएकाले अधिकांश मत आफूलाई आउने दाबी गरिरहेका छन् । उनले परिवर्तन, न्याय, समानता, स्वतन्त्रता र सुशासनको मुख्य एजेन्डासहित चुनावमा होमिएकाले मतदाताले न्याय गर्ने बताए । ‘पहिलोपल्ट मतदान गर्न थालेका, युवा र कांग्रेस कार्यकर्ताहरूको मतले म विजयी हुने कुरामा ढुक्क छु,’ उनले भने, ‘मतदाताहरूले पटकपटक एउटै व्यक्तिलाई जिताए पनि परिवर्तन नभएपछि विकल्प खोजिरहेका छन् ।’ शर्माले यसअघिको मतभार र गठबन्धनका कारण आफूले चौथोपल्ट जित्ने दाबी गर्दै आइरहेका छन् । – ईकान्तिपुरबाट