काठमाडौं उपत्यकामा माओवादी शून्य, एमालेको २ सिट

काठमाडौं उपत्यकामा माओवादी शून्य, एमालेको २ सिट

काठमाडौं उपत्यकाले हरेक चुनावमा नयाँ सन्देश दिने गर्छ । २०६४ सालयताकै चुनाव हेर्दा पनि हरेक पटक यहाँका मतदाताले निरन्तर निर्णय बदलिरहेका छन् ।

यसपटक उपत्यकाका मतदाता वामपन्थीका लागि निर्मम भएर प्रकट भए । नेपाली कांग्रेसले भने आफूलाई बलियो बनाउन सफल भएको छ । २०६४ सालमा ७ सिट जितेको माओवादी यसपटक शून्य भएको छ । २०७४ को चुनावमा ९ सिट जितेको एमालेले जम्मा दुई सिट जित्यो । भक्तपुर-१ भने नेमकिपाको सुरक्षित किल्ला कायमै छ । त्यहाँबाट प्रेम सुवाल निर्वाचित भए ।

उपत्यकाका १५ वटै सिटमा उम्मेदवार खडा गरेको एमाले दुई सिटमा विजयी भएको छ । वाम लोकतान्त्रिक गठबन्धन बनाएर उपत्यकाका १५ मध्ये ७ सिटमा उम्मेदवार खडा गरेको माओवादी केन्द्र सबैतिर पराजित भएको छ ।

यसपटक एमाले विभाजन गरेर गठन भएको नयाँ दल नेकपा एकीकृत समाजवादीले उपत्यकाका दुई क्षेत्रमा उम्मेदवारी दिएको थियो । सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिंदा पनि निवर्तमान सांसदद्वय जीवनराम श्रेष्ठ काठमाडौं-९ र कृष्णलाल महर्जन ललितपुर-२ बाट पराजित भए ।

उपत्यकाभित्र कांग्रेसले काठमाडौंका ५, ललितपुरका २ र भक्तपुरमा १ सिट जितेर आफूलाई पहिलो शक्ति बनाउन सफल भएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) दोस्रो शक्तिका रूपमा उदाएको छ । उसले काठमाडौंका ४ र ललितपुरको एउटा निर्वाचन क्षेत्रमा जित निकाल्न सफल भएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार