जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।
गएराति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ ।
प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् ।
घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।
घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको खुट्टाको केही भागमा जलेको छ ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्याइएको छ ।