मेघा पुल निर्माणको सकियो सम्झौता, बनेन पुल

मेघा पुल निर्माणको सकियो सम्झौता, बनेन पुल

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुलको काम सम्झौता भएको आठ वर्ष हुँदा पनि सुरु भएको छैन । दुई वर्षमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि आठ वर्षसम्म पुल निर्माणको काम सुरु नै गरिएको छैन ।

सडक डिभिजन कार्यालय चौरजहारीमार्फत खोलिएको मेघा पुल निर्माणको ठेक्का सपना सैलुङ जेभी काठमाडौँले पाएको छ । डिभिजन कार्यालयका इन्जिनियर सुरेशकुमार बस्यालका अनुसार उक्त निर्माण कम्पनीले २०७१ साल मङ्सिर २ गते गरिएको सम्झौतामा २०७३ पुस २ मा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

उक्त मितिमा काम नगरेकाले २०७७ पुस १३ सम्मका लागि म्याद थप गरिएको थियो । उक्त मितियता पनि काम सुरु भएको छैन । १२० मिटर लामो आरसीसी पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म मेघा पुल निर्माणको तीन प्रतिशत मात्रै वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । सानीभेरी गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर पुनले साबिक पुर्तिमकाँडा गाविसको फल्याबगर र गरायला गाविसको मेघा जोड्ने गरी २०७१ मा पुल बन्ने कुरा भए पनि हालसम्म काम नै सुरु नभएको बताउनुभयो ।

सानीभेरी नदीमा निर्माण हुनुपर्ने उक्त पुल समयमै नबन्दा सर्वसाधारणले सास्ती पाइरहेको उहाँले बताउनुभयो । पुल निर्माण भएमा मध्यपहाडी सडक मार्गको फल्याबगरदेखि गरायला, रिम्ना, डोल्पा आउजाउमा उक्त पुलले सहजता दिने वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।

सपना सैलुङ जेभीका प्रोजेक्ट म्यानेजर वशिष्ठनारायण यादवले काम सुरु गर्ने गरेर आफूहरू फिल्डमा आएको बताउनुभयो । प्रोजेक्ट म्यानेजर यादवले भन्नुभयो, “मलाई यही पुल बनाउनका लागि नियुक्ति दिएर कम्पनीले पठाएको छ । हामी जतिसक्दो काम सुरु गर्न लागेका छौँ ।” विगतमा पायल फाउन्डेसन बनाउन सानो मेसिनले काम गर्न नसकेको, कोरोना महामारीलगायतका कारण काम सुरु गर्न नसकिएको उहाँको भनाइ छ । अहिले फाउन्डेसन निर्माणका लागि रिग मेसिन निर्माण स्थलमा ल्याइएको र सडक डिभिजन कार्यालयसँग काम सुरु गर्नका लागि समन्वय भइरहेको यादवको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार