बलात्कार मुद्दामा बयान फेर्ने युवतीलाई एक महिना कैद

बलात्कार मुद्दामा बयान फेर्ने युवतीलाई एक महिना कैद

रुकुम जिल्ला अदालत ।

मुसिकोट । बलात्कार मुद्दामा अदालतमा बयान फेर्ने एक युवतीलाई रुकुम जिल्ला अदालते जेल पठाएको छ। आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी युवतीले अदालतमा बयान फेरेपछि परिवर्तित नामथर वतन रुकुम (५४) राखिएकी ती युवतीलाई कैद सजायका साथै आर्थिक जरिवाना पनि गरिएको छ।

प्रतिवादीलाई जोगाउन बयान बदलेको भन्दै रुकुम जिल्ला अदालतले २०७५ असार २० गते पीडित भनिएकी युवतीलाई एक महिना कैद र एक हजार जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालतको उक्त फैसलालाई उच्च अदालत सुर्खेतले २०७५ फागुन ६ गते सदर गरेसँगै उनी फरार रहेकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फरार ती युवतीलाई चार वर्षपछि २०७९ चैत्र २४ गते पक्राउ गरेर रुकुम जिल्ला अदालतमा बुझाएको थियो । प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठले अदालतको आदेश अनुसार नै पक्राउ गरेर कारागार चलान गरिएको बताउनुभयो ।

ती युवतीले २०७९ चैत्र २४ गतेदेखि २०८० बैशाख २३ गतेसम्म कैद भुक्तान गर्ने बताईएको छ । अदालतको फैसला अनुसारको एक हजार रुपियाँ जरिवाना रकम समेत अदालतमा बुझाईसकेको प्रहरीको भनाई रहेको छ ।

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार