भूकम्प : अस्थायी घर टहरा बनाउन एमालेका स्वयंसेवक परिचालन

भूकम्प : अस्थायी घर टहरा बनाउन एमालेका स्वयंसेवक परिचालन

नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउन स्वयंसेवक परिचालन सुरु गरेको छ । एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)का स्वयंसेवकहरुले शुक्रबारबाट जाजरकोटको भेरी नगरपालिका वडा-३ थाप्लेमा अस्थायी घर टहरा निर्माणको कार्य सुरु गरेका छन् ।

‘भूकम्पले बनाएको भग्नावशेष पन्छाएर अस्थायी घर टहरा बनाउन सुरु गरेका छौं,’ एमाले केन्द्रीय सदस्य नीरज आचार्यले भने, ‘आजबाट जीफन्ट (नेपाल ट्रेड युनियन महासंघ)का एक सय स्वयंसेवक जाजरकोटमा परिचालन हुनुभएको छ ।’

कात्तिक २२ गते बसेको एमाले सचिवालय बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुममा अस्थायी घर टहरा निर्माणका लागि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।

एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले परिचालनसहितको विषयलाई संयोजन गरेको छ । ‘१ हजार स्वयंसेवक खटिनुहुन्छ । हामीले २५ जनाको समूहको ४० वटा टोली बनाएर खटाउने छौं । एक सय साथीहरु स्वयंसेवकको आवश्यक सहयोग गर्न खटिनुहुन्छ,’ विभागमा प्रमुख किरण पौडेलले भने, ‘केही साथीहरु आजैबाट खटिनु भएपनि आइतबारबाट पूर्ण रुपमा परिचालन हुने छ । अभियान २ सातासम्म चल्ने छ ।’

पौडेलका अनुसार स्वयंसेवकहरुले भग्नावशेष पन्छाउने, भूकम्पमा मरेका पशुहरुको व्यवस्थापन गर्ने र अस्थायी घर टहरा निर्माणको काम गर्ने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार