चौरजहारीमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’

चौरजहारीमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’

मुसिकोट । केही काम लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका जाँदै हुनुहुन्छ ? नगरपालिका प्रवेश गरिसकेपछि सम्बन्धित शाखा खोज्दै हैरानी बेहोर्नुभएको छ ? सामान्य कामका लागि पनि कोठाकोठा चहार्दै हिँड्दा सास्ती खेप्दै आउनुभएको छ भने अब त्यस्तो समस्या अन्त्य हुने भएको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीलाई सेवा लिन हुने झन्झटको अन्त्य गर्नका लागि चौरजहारी नगरपालिकाले शुक्रवारदेखि ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ सञ्चालनमा ल्याएको छ । यो सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राही अब सेवा लिन कोठा कोठा हिँड्नु पर्दैन । सेवा केन्द्रमा पुगेर फाइल बुझाएपछि सेवाग्राहीले आराम गर्दै गर्दा काम सकाएर फाइल हातमै पाउँछन् ।

नगरपालिका आउँदा फाइल बोकेर कोठाकोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरेपछि नगरवासी खुसी भएका छन् ।

नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । ‘सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा विभिन्न कोठा चाहर्नुपर्ने बाध्यताको अन्त्यका लागि केन्द्र सुरु गरेका हौँ’, उहाँले भन्नुभयो, ‘केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाउनुहुनेछ ।’

एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा सेवाग्राहीले फाइल बुझाएपछि केन्द्रका कर्मचारीले सम्बन्धित सबै फाँट र शाखामा लगेर काम सम्पन्न गरी फाइल पुनः सेवाग्राहीलाई बुझाउनेछन् ।

तोकिएको मापदण्ड बमोजिमको कागजातको अभाव देखिएमा वा रितपूर्वक नदेखिएमा उक्त केन्द्रमा राखिएको टेलिफोन सेवाको प्रयोग गरी सम्बन्धित शाखाको अधिकारीले सेवा केन्द्रका कर्मचारीको समन्वयमा सेवाग्राहीसँग प्रत्यक्ष टेलिफोन वार्ता गरी के कति कारणले फाइल रोकिएको हो, त्यसका कारण र नपुग कागजात, विधि र प्रक्रियाबारे बुझाइने छ ।

जटिल प्रकृतिका सेवा प्राप्तिमा अन्योल हुन गएमा मात्र प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारीले तुरुन्त सेवा केन्द्रमा उपस्थित भई सेवाग्राहीलाई सो फाइल उपर छलफल गर्ने जनाइएको छ ।

यस्तै सेवा पश्चात् सेवाग्राही सन्तुष्टि सर्वेक्षण, गुनासो सुनाइ र साप्ताहिक रूपमा फर्छ्यौट गर्ने व्यवस्था समेत मिलाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार