आठविसकोटका बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारियो

आठविसकोटका बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारियो

आठविसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका बाढी प्रभावित परिवारहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीको कारण जोखिममा रहेका यहाँका करिब ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

गिजागार खोलाको कारण वडा नम्बर १२ को झिन्चौरका ४० घरपरिवार र वडा नम्वर ११ को सिमबजारका २० घरपरिवारलाई सुरक्षित स्थानमा सारिको हो । झिन्चौरका बिस्थापित घरपरिवारलाई स्थानीय कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रा.लि.को परिसरमा सारिएको वडा अध्यक्ष खम्मे कुसारीले जानकारी दिनुभयो ।

सिमबजारका बिस्थापितहरु राडि बजार र गोईरीमा रहेका आफन्तको घरमा सरेको बताईएको छ ।

यसैबिच नेपाल रेडक्रस सोसाईटी रुकुम पश्चिम शाखाले घटनास्थलमै पुगेर बाढी पीडितहरुलाई राहत उपलब्ध गराएको छ । रेडक्रसका जिल्ला सभापति रमा गौतमका अनुसार २१ घर परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्रीहरु उपलब्ध गराईएको हो । ४२ वटा म्याट, २१ थान त्रिपाल, ५० थान डोरी, २१ थान डिग्निटी किडका सामाग्रीहरु बाढी पीडित परिवारलाई उपलब्ध गराईएको सभापति गौतमले जानकारी दिनुभयो ।

बाढी प्रभावित परिवारलाई राहत विरतणका साथै रेडक्रसको टोलीले उद्धारको कार्यमा समेत सहयोग गरेको छ । बाढीले घर क्षति गरेपछि घरभित्रका सामाग्रीहरुको व्यवस्थापन, परिवारलाई सुरक्षित स्थानमा सार्न रेडक्रसका स्वयमसेवकहरु परिचालन गरिएको छ ।

गएराती स्थानीय गिजागार खोलामा आएको बाढीले यहाँका तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ । बाढीकै कारण नौ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्कीको रहेका छन् ।

बाढीले बगाउँदा स्थानीय ३७ बर्षिय डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकहरुको शव आठविसकोट नगर अस्पतालमै पोष्टमार्टम गरेर आफन्तले बुझेका छन् । बाढीमा परेर घाईते भएका नौ जनाको नगर अस्पतालमा उपचार भईरहेको छ ।

यसैगरी आजै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहितको सुरक्षा प्रमुखको टोलीले घटनास्थलको स्थलगत अवस्था अध्ययन गरेको छ । घटना लगत्तै राती नै सुरक्षा समितिको बैठक बसेर आवश्यक राहत सामाग्रीसहित टोली घटनास्थल पुगेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार