मुसिकोट । कर्णाली प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा रहेको प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताउनु भएको छ । प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उद्श्यले रणनीतिक अस्पताल स्थापनाको योजना बनाइएको उहाँको भनाई छ ।
आज रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विभिन्न जिल्लाहरु र विकटका पायक पर्ने स्थानहरुमा त्यस्ता खालका अस्पतालहरु स्थापना गर्ने योजना रहेको उहाँको भनाई थियो । “प्रदेशको सबै ठाउँमा भरपर्दो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यो समस्या समाधानको लागि सरकारले रणनीतिक अस्पताल सञ्चालनको योजना बनाएको हो । सरकारले १२ स्थानमा यस्ता खालका अस्पताल स्थापना गर्ने योजना बनाएको छ ।”, मन्त्री भण्डारीले भन्नुभयो ।
अस्पातलमा विषेशज्ञ सेवा प्रवाह गर्ने उद्श्य रहेको उहाँको भनाइ छ । “प्रदेशको सवै ठाउँमा विषेशज्ञ सेवा भएका अस्पताल पनि छैन । जिल्ला अस्पतालहरु र अन्य स्वास्थ्य संस्थामा पनि सुविधा नभएको पाईन्छ । जिल्ला अस्पताल सम्म पुग्न समस्या भएको पनि छ । त्यस्ता ठाउँ छनोट गरेर हामिले विषेशज्ञ सेवा सहितका रणनीतिक अस्पतालको अवधारणा ल्याएका हौ ।”, मन्त्री भण्डारीले भन्नुभयो ।
त्यस्तै प्रत्यक तिन÷तिन महिनामा प्रदेशभर नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रदेश सरकारसंग रहेको उहाँले बताउनुभयो । संघियता आउनु भन्दा पहिला निर्माण सुरु भएका स्वास्थ्य भवनहरु पुनःनिर्माणको लागि पनि काम भैरहेको उहाँको भनाई थियो ।
“संघियता आउनु भन्दा पहिला निर्माण थालिएका तर निर्माण हुन नसेकेका धेरै स्वास्थ्य भवनहरु अलपत्र अवस्थामा छन् । उति खेर भवन निर्माण गरिहेको कार्यालयहरु संघियता पछि नहुदा भवन निर्माणको काम अलपत्र परेका हुन । त्यस्ता खालको भवनको तथ्याङ्क संकलन भैरहेको र अवस्था हेरेर निर्माणलाई निरन्तरता दिइने छ ।”, मन्त्री भण्डारीले भन्नुभयो ।
त्यस्तै “एक पालिका, एक नुमना विद्यालय” स्थापना कार्यक्रम, प्रदेश अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने, प्रदेशमै स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादनमा प्रदेश सरकारको प्राथामिकता रहेको उहाँको भनाई छ ।