मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ थर्पूमा रहेको डिग्रे शाईकुमारी मन्दिरमा आजदेखि पूजापाठ सुरु भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिन सम्म दर्शनार्थीको बाक्लो भिड लाग्ने मन्दिरमा बिहानैदेखि पूजापाठ सुरु भएको हो ।
आज बिहान ५ बजे देखि शाईकुमारी मन्दिरको दर्शन तथा पूजापाठका लागि श्रद्दालु भक्तजनको बाक्लो उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले बताउनुभयो।
डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा एकादशी देखि पूर्णिमाको दिन सम्म भव्य रुपमा पूजापाठ र मेला लाग्ने गर्दछ । मनले चिताएको पूरा हुने धार्मिक जनविश्वास रहेको डिग्रे मन्दिरमा पूजापाठका लागि देशका विभिन्न ठाउँबाट सर्वसाधारणको उपस्थिति हुने गरेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष केसीका अनुसार हरिबोधनी एकादशीका दिन तुलसीको विवाहसहित शुद्ध रुपमा बिशेष पुजापाठ गरिने छ । २८ गतेका दिन द्वादशी, २९ गते एकैदिन त्रयोदशी र चतुर्दशी परेकोले यी दुई दिन मात्र बोकाको बलि दिन सकिनेछ । ३० गते पुर्णिमाको दिन पुजापाठसँगै भव्य मेला लाग्ने गर्दछ ।
पुर्णिमाको दिन मन्दिरमा टिका ग्रहण गर्नका साथै मेलामा आकर्षक नाचगान र विभिन्न झाँक्रीहरु प्रस्तुत हुने गर्दछन् । परम्परागत सगाल नाच यहाँको मुख्य आकर्षण रहेको हुन्छ ।
मन्दिर क्षेत्रका रुख विरुवा नकाट्न, मन्दिरको धारामा फोहोर नफाल्न समेत सूचना जारी गरिएको छ । यसका साथै मेलामा भैँसी राँगा ,कुखुरा, संगुर , बंगुरको मासु र अण्डा पुर्ण रुपमा निषेध गरिएको समितिले जनाएको छ ।
त्यस्तै मन्दिरको भिडलाई मध्यनजर गर्दै गतवर्ष देखि सिसि क्यामेरा जडान गरिएको छ ।