काठमाडौँ । सरकारले समयमा भुक्तानी नदिएको र निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण व्यवसायीले आन्दोलनको तयारी गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरिने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि भएको साथै सरकारले समयमा भुक्तानी नदिँदा निर्माण उद्योग समस्यामा परेको अध्यक्ष सिंहको भनाई छ । राज्यले गत वर्षका कार्यक्रमको भुक्तानी चालू आर्थिक वर्षको विनियोजित बजेटबाट भएको हुँदा अब यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानीको समस्याले पुनः जटिल रूप लिन सक्ने अध्यक्ष सिंहले बताए ।
सिमेन्टको मूल्यमा प्रतिबोरा २०० रुपैयाँभन्दा बढी मूल्य बढेको उनीहरूको गुनासो छ । अहिले पीपीसी ६५० रुपैयाँ प्रतिबोरा र ओपीसी ७५० रुपैयाँ प्रतिबोरा पुगेको छ । साथै फलामे छडको प्रति किलो १५ रुपैयाँले मूल्य वृद्धि भएको छ । निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेको कारण निर्माण व्यवसायी थप मारमा परेको महासंघको गुनासो छ ।
निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापन लगायतका विषय सम्बोधन हुनुपर्ने निर्माण व्यवसायीहरूको माग छ । माग पूरा नभएसम्म व्यवसायीहरू आन्दोलनमा जाने उनीहरूले घोषणा गरेका छन् ।