रारामा २५ प्रजातिका विदेशी चरा

रारामा २५ प्रजातिका विदेशी चरा

तस्बिर सौजन्य : धर्मजीत साउद

सुर्खेत । विभिन्न देशबाट चिसो छल्न रारातालमा चरा आउने क्रम सुरु भएको छ । वर्सेनि हिउँदको समयमा रारामा युरोप, चीन, साइबेरिया, भारतलगायत देशबाट कमकुट, बाटरफल्व, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोया हाँसलगायत विदेशी चरा आउने गरेका छन् ।

ती चराहरू गर्मी महिना सुरु भएसँगै झण्डै ५ महिनापछि साइबेरिया, युरोप, मंगोलिया, मानसरोवरलगायत क्षेत्रमा फर्कन्छन् । विदेशी चराहरु बसाइ सरी आएपछि राराक्षेत्र गुल्जार बनेको छ भने रारातालको सौन्दर्य बढाएको छ । यस वर्ष पहिलोपल्ट साइबेरियाबाट कमन मोरियन जातको चरा आएको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी धर्मजीत साउदले बताउनुभयो । उहाँका अनुसार रारातालमा वर्षेनि आउने ४९ मध्ये झण्डै २५ प्रजातिका चरा आइसकेका छन् । जाडोमा पनि तालको पानी तातो हुने र पर्याप्त आहारा पाइने भएकोले विदेशी चरा रारामा आउने गरेको उहाँको भनाइ छ ।

आहारा खोज्न ताल मिसिएका स–साना खोलातिर पानीजन्य चराको घुइँचो हुन थालेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पाहुना चरा आहारा खोज्न मुर्मा, झयारी, माथि तुम, ताल्चालगायत बस्तीसम्म पुग्ने गरेका छन् । मंसिर महिना सुरु भएपछि तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराको नौलो आवाज सुन्न सकिने र प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने उहाँको भनाइ छ ।

चिसोले गर्दा रारामा पर्यटकको संख्या घटेको भए पनि पाहुना चराको संख्या बढ्दै गएको हुटुस्थित भिलेज हेरिटेज रिसोर्टका प्रवन्धक दिपक रावतले बताउनुभयो । गत वर्ष नेपाल पंक्षी संरक्षण संघबाट खटिएको ३ सदस्यीय विशेषज्ञ टोलीले रारामा फिरन्ते चराबारे अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा रारामा १ सय ४ वटा प्रजातिका चरा फेला परेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार