सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयतर्फ ३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले आइतबार कर्णाली प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा आगामी वर्षका लागि कूल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा मन्त्रालयका लागि २ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि ९१ करोड बढी बजेट छुट्याइएको हो ।
सरकारले वीरेन्द्रनगर नगरपालिकाको भेरी लिफ्टिङ र शारदा नगरपालिकाको जर्खु लिफ्टिङ आयोजनाको लागि २४ करोड विनियोजन गरेको छ ।
त्यस्तै दैलेखको बारतडी खानेपानी बहुउद्देश्यीय आयोजना तथा सल्यानको बन्गाडकुपिण्डे बृहत खानेपानी आयोजनालाई निरन्तरता दिएको छ । अदानचुली बृहत खानेपानी, मुलखोला थरा, कुपिण्डे पारीगाउँ काउचे लिफ्ट खानेपानीका लागि १७ करोड ३६ लाख छुट्याएको छ ।
यसैगरि जलवायु उत्थानशील भू परिधि तथा जीविकोपार्जन परियोजनामार्फत पहिलो चरणमा सल्यान, रुकुम पश्चिम र मुगुका लागि ६ करोड ५९ लाख छुट्याइएको मन्त्री शाहले बताउनुभयो । उहाँका अनुसार खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न १ अर्ब १६ करोड रुपैयाँ छुट्याइएको छ ।
आगामी वर्षका लागि चौकुने गाउँपालिकामा जुम्ल्यामूल ताल बहुउद्देश्यीय आयोजनामा ७ करोड ५० लाख र वीरेन्द्रनगरस्थित बुलबुलेदेखि निकास खोलासम्मको जलविहारसहितको बहुउद्देश्यीय परियोजनाका लागि ८ करोड ६१ लाख छुट्याइएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख (२३.६४ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख (६०.५५ प्रतिशत) विनियोजन गरेको हो ।