काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।
भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन चर्किएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका थिए। तर, प्रदर्शकारीहरूले नेताहरूको घर छानी छानी आगजनी गरिरहेका छन्। सरकारी भवन, पार्टी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरिरहेका छन्।
प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको निवासलगायत नेता र मन्त्रीका घरहरूमा आगजनी गरेका छन्।
त्यस्तै प्रदर्शनकारीहरूले प्रहरी बिट जलाउनुका साथै सिंहदरवारमा पनि प्रवेश गरेका छन्।