सोमबार उनले प्रहरी महानिरीक्षकलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले जानकारी दिए।
महान्यायाधीवक्ताले दिएका निर्देशनमा मुख्य तीन बुँदा छन्। पहिलो बुँदामा पीडित घाइतेहरूलाई संरक्षण एवं सुरक्षाको अतिरिक्त चिकित्सकीय मनोवैज्ञानिक र मनोचिकित्सकीय सेवा तथा परामर्श उपलब्ध गराउने उल्लेख छ।
दोस्रो बुँदामा मृतकका परिवारलाई सुरक्षा दिनुका साथै आवश्यक मनोचिकित्सकीय सेवा दिन भनिएको छ।
महान्यायाधीवक्ताले दिएको तेस्रो निर्देशन पीडित घाइतेहरूलाई अन्तरिम क्षतिपूर्ति दिनु भन्ने छ।
‘पीडित घाइतेहरूलाई औषधी उपचारलगायत कामको लागि अन्तरिम क्षतिपूर्ति दिनुपर्ने भए सोको लागि आवश्यक कार्य गर्ने,’ उक्त बुँदामा भनिएको छ।
जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज बिक आफ्ना १८ जना साथीहरूसहित प्रेमिकालाई लिन जाँदा प्रेमिकाका दाजुहरू, वडाअध्यक्ष तथा गाउँलेहरू मिलेर आक्रमण गरेका थिए।
आक्रमणमा परी नवराजसहित ६ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबै भेरीमा बेपत्ता भएर पछि भेटिएका थिए।
३ जना मृतक युवाका आफन्त र भागेर ज्यान जोगाएका युवाहरूले चौरजहारी नगरपालिका- ८ का वडा अध्यक्ष, केटीका बाबुआमासहित गाउँका २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमार्फत् रूकुम प्रहरीमा किटानी जाहेरी दिएका छन्।
प्रहरीले अहिलेसम्म चौरजहारी नगरपालिका वडा नं- ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २५ जनालाई पक्राउ गरेको छ।