काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।

