मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । आज एक कार्यक्रमका बिच नगरपालिकाको वडा नम्बर ३ को धैरेनीचौर खेलकुद मैदानमा नगर प्रमुख महेन्द्र केसीले शिल्डको उद्घाटन गर्नुभएको हो ।
शिल्डमा नगरपालिकाका १८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको शिल्ड सञ्चालन तथा व्यवस्थापन उप समितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो । शिल्डमा छात्र छात्रा भलिबल सहित कुल ५२ विधामा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।
शिल्डमा उफ्रने र फ्याँक्ने तर्फ हाइजम्प लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुटका १० विधामा, मार्सल आर्ट अन्तर्गत २४ विधामा प्रतिस्पर्धा हुने छ ।
यस्तै एथलेटिक्स अन्तर्गत छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार दौड मिटर तथा विभिन्न दुरीको रिले दौडमा प्रतिस्पर्धा हुने छ । ट्र्याक तर्फका खेलको नगर उपप्रमुख विमलकुमार पुनले मसाल बालेर तथा सटफुट फालेर सटफुट खेलको उद्घाटन गर्नुभयो ।
पहिलो दिन सटफुट तर्फको प्रतिस्पर्धा सकिएको शिल्ड व्यवस्थापन तथा सञ्चालक उपसमितिले जनाएको छ ।
चौथो राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमितिका संयोजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन सुधीर केसीले गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख ताराप्रकाश पुन, नगरपालिकाका विषयगत समितिका संयोजकहरू, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
शिल्ड १० गतेसम्म सञ्चालन हुने छ ।

