मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगरस्तरीय कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मंसिर २६ गते आयोजित कृषि मेला प्रदर्शनी आज सम्पन्न भएको हो ।
चौरजहारी नगरपालिका वडा नम्बर ११ टाटामा रहेको कृषि उपज संकलन तथा बिक्री केन्द्रको भवन परिसरमा आयोजना गरिएको कृषि मेलामा नगरभित्रका कृषकहरूले आफ्ना विभिन्न कृषि उत्पादनहरू प्रदर्शन गरेका थिए । मेलामा सहभागी कृषकहरूबाट उत्कृष्ट कृषि उपज छनोट गरी २४ जना कृषकलाई पुरस्कारसहित सम्मान गरिएको चौरजहारी नगरपालिकाका कृषि अधिकृत प्रकाश डाँगीले जानकारी दिनुभयो ।
मेलामा खाद्यान्न बालीअन्तर्गत धान, मकै, गहुँ, मौसमी तथा बेमौसमी तरकारी बालीतर्फ काउली, बन्दा, टमाटर, खुर्सानी, प्याज, फलफूल बालीतर्फ सुन्तला, कागती, मौसम, किवी, केरा, भुईंकटहर, अमिलो लगायतका उपजहरू प्रदर्शनमा राखिएका थिए । साथै मसला बालीअन्तर्गत अदुवा, बेसार, अलैंची, कफी, उखु तथा दलहन र तेलहन बालीअन्तर्गत सिमी, बोडी, भटमास, तिल, तोरी, रायो र मूलाका बोटहरू समेत प्रदर्शनीमा समावेश गरिएको थियो ।
प्रदर्शनीका लागि कृषकहरूले कम्तिमा १ किलो पारदर्शी प्लास्टिकमा प्याकेजिङ गरी वा बोट तथा हाँगासहित कृषि उपज ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । सोही आधारमा मूल्यांकन गरी उत्कृष्ट कृषक छनोट गरिएको हो ।
कृषि अधिकृत डाँगीका अनुसार प्रथम स्थान प्राप्त गर्ने कृषकलाई नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्नेलाई नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्नेलाई नगद १ हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने कृषकलाई नगद ७ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कार वितरण कार्यक्रम चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उप प्रमुख ईश्वरी शर्मा बिएम, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल लगायत नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कृषकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि अधिकृत प्रकाश डाँगीले गर्नुभएको थियो ।
कृषि मेला प्रदर्शनीले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, कृषकको मनोबल अभिवृद्धि तथा कृषि पेशालाई व्यवसायिक बनाउने दिशामा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।

