बाँकेमा चिसोका कारण विद्यालय बन्द

बाँकेमा चिसोका कारण विद्यालय बन्द

काठमाडौँ। अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै पुस ९ र ११ गते विद्यालय बन्द गरिएको जनाएको छ ।

पुस १० गते क्रिसमसको बिदा रहेको छ । पालिकाले शिक्षा समितिको निर्णयअनुसार पुस ९ र ११ गते पठनपाठन स्थगित गरी प्रशासनिक कार्य भने नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।

खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अत्यधिक चिसो र शीत लहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

शिक्षा शाखा प्रमुख मल्लले भने, “आम अभिभावकको आग्रहका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।” अत्यधिक जाडो र शीतलहरूका कारण विद्यालय सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ ।

बाँकेमा मङ्सिर अन्तिम सातादेखि बिहानै बाक्लो हुस्सु र शीतलहर चलेपछि जन जीवन प्रभावित हुँदै आएको छ । हवाई उडान प्रभावित तथा अनियमित हुने गरेको छ । अत्यधिक चिसोबाट बच्न मानिसहरू आगो तापेर बसिरहेका छन् ।

नेपालगन्ज उप-महानगरपालिकासहित जिल्लाको अन्य स्थानीय तहमा समेत अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न अभिभावकले माग गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार