विपन्न तथा अपाङ्गता भएका ९ बालबालिकालाई शैक्षिक छात्रवृत्ति सहयोग

विपन्न तथा अपाङ्गता भएका ९ बालबालिकालाई शैक्षिक छात्रवृत्ति सहयोग

सुर्खेत । निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको बीरेन्द्रनगर नगरपालिका भित्र रहेका चार सामुदायिक विद्यालयमा अध्ययनरत अति जेहेन्दार, विपन्न तथा अपाङ्गता भएका ९ जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति (ब्रसरी) सहयोग प्रदान गरिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजनामा बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रसँगको दोस्रो चरणको सहकार्य कार्यक्रम अन्तर्गत उक्त सहयोगको गरिएको हो। निजी क्षेत्र नाफामूलक गतिविधिमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने उद्देश्यसहित सुरु गरिएको अभियान अन्तर्गत ७ जना बालबालिकालाई ३ वर्ष र २ जनालाई १ वर्षसम्म शैक्षिक खर्च सहयोग गरिनेछ।

कार्यक्रम अनुसार शुभ होटल सुर्खेत प्रा.लि.ले अमरज्योति माध्यमिक विद्यालय नेवारेमा कक्षा १२ मा अध्ययनरत पूर्णिमा रावत र श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा कक्षा ९ मा अध्ययनरत मनबुजा थापाको तीन वर्षसम्म शैक्षिक खर्च व्यहोर्ने जिम्मा लिएको छ। यस्तै होटल स्टेभ्याली भ्यू सुर्खेतले अमरज्योति माध्यमिक विद्यालय नेवारेकी कक्षा ९ की छात्रा सुस्मा चन्दको तीन वर्षसम्मको पढाइको जिम्मेवारी लिएको छ।

एस.एस. स्टेशनरी सुर्खेतले जनसेवा माध्यमिक विद्यालय घुस्राकी कक्षा ९ की छात्रा शर्मिला शर्मा, के.पी. व्यवसायिक प्रा.लि. सुर्खेतले शिव माध्यमिक विद्यालय लाटीकोइलीकी कक्षा ८ की छात्रा सृष्टि सिंह तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले अमरज्योति माध्यमिक विद्यालय नेवारेकी कक्षा ९ की छात्रा स्मृति सुनारको तीन वर्षसम्म अध्ययन खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

त्यसैगरी डि नमस्ते होटल सुर्खेतले शिव माध्यमिक विद्यालय लाटीकोइलीका कक्षा ८ का विद्यार्थी सचिन चौधरीको तीन वर्षसम्म शैक्षिक खर्च व्यहोर्ने भएको छ। लाइन्स क्लब अफ सुर्खेत काँक्रेबिहारले श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थी टीका बी.के.को एक वर्ष र मालिका डेस्कटप सुर्खेतले जनसेवा माध्यमिक विद्यालय घुस्राकी कक्षा ९ की छात्रा गोमा खत्रीको एक वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने भएका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सहयोग पाउने बालबालिकाले अध्ययनमा निरन्तरता, अनुशासन र लगनशीलता देखाउनुपर्ने बताउँदै दाताहरूलाई आफ्नो प्रतिबद्धता बीचमै नछोड्न आग्रह गर्नुभयो। सहयोग निरन्तर नहुँदा बालबालिकाको भविष्य अन्योलमा पर्न सक्ने उहाँको भनाइ थियो।

सेभ द चिल्ड्रेन सुर्खेत फिल्डका कार्यक्रम व्यवस्थापक बालमुकुन्द महतले प्रारम्भिक चरणमा वार्षिक १२ हजार रुपैयाँका दरले सहयोग सुरु गरिएको जानकारी दिँदै यसले भावी पुस्तामा सकारात्मक सोच र प्रेरणा सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

समाज जागरण केन्द्र (स्याक) नेपालकी अध्यक्ष मिनाकुमारी तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही रहनुभएको थियो। कार्यक्रममा बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, उद्योग वाणिज्य संघ, पत्रकार, अभिभावक, शिक्षक तथा बालबालिकाको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहयोगीदाता र समाज जागरण केन्द्र स्याक नेपालबीच दुई पक्षीय सम्झौता समेत गरिएको छ। कार्यक्रमको उद्देश्य स्वागत तथा प्रस्तुतिकरण सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक प्रेम पुनले गर्नुभएको थियो भने सञ्चालन स्याक नेपालका कार्यक्रम अधिकृत हरि कोइरालाले गर्नुभएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार