मुसिकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुम पश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मुसीकोट नगरपालिका -१ मा रहेको पार्टी कार्यालयमा बुधबार बसेको जिल्ला कमिटीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला संयोजक गोर्खबहादुर केसी ‘सन्देश’ले जानकारी दिनुभयो ।
उम्मेदवारका लागि सिफारिस गरेसँगै पार्टी चुनावमा होमिएको जिल्ला संयोजक सन्देशले जानकारी दिनुभयो । शान्ती, उर्जा, गृह, अर्थ मन्त्री भईसक्नुभएका शर्मा तत्कालिन माओवादी केन्द्रको प्रभावकारी नेताको रुपमा चिनिनुहुन्थ्यो ।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका शर्मा आगामी निर्वाचनमा भने फरक पार्टी र फरक चुनाव चिह्नबाट चुनाव लड्न लाग्नुु भएको छ ।
चुनावका लागि यस अघि जिल्लामा क्रियाशिल विभिन्न दलहरुले उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेसले जिल्ला सभापति प्रेमप्रकाश ओली, पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह र लेकमाया केसीलाई उम्मेदवार सिफारिस गरेको छ भने नेकपा (एमाले)ले जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई सिफारिस गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोपाल शर्माको नाम एकल रुपमा सिफारिस गरेको छ भने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले चन्द्रबहादुर बुढालाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दिपक कुमार मल्ल, सौरेन्द्रबहादुर शाह र गोपाल खड्काको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

