मुसिकोट। नेपाली कांग्रेसका उम्मेदवारले रुकुम पश्चिममा क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलनको अभियान सुरु गरेका छन ।
क्यूआर कोडमार्फत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता र निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिने व्यवस्था गरिएको छ।
जस्का लागि गुगल फाराम तयार गरिएको छ । त्यसमा मतदाताले आफ्ना सल्लाह, सुझाव तथा अपेक्षा सहजै राख्न मिल्छ । काँग्रेसका युवा उम्मेदवार राजु केसीले संकलित सुझावका आधारमा भविश्यमा योजना निर्माण गरिने बताए ।
केसीले समृद्ध रुकुम पश्चिम निर्माण गर्न र विगतका अधुरा विकासका काम पूरा गर्न मतदाताको सक्रिय सुझाव आवश्यक रहेको हुँदा क्यूआर कोडमार्फत सुझाव संकलन गर्ने अभियान थालिएको बताए ।
ब्यस्त मतदातालाई आफ्नो सुविधा अनुकुल सार्वजनिक रुपमा क्यूआर कोडमार्फत सुझावहरु दिन आह्वान गरिएको उनले बताए ।
बुधबारदेखि नै काँग्रेस उम्मेदवारले यो अभियान संचालनमा ल्याएका छन् । समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिने बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुकुम पश्चिममा काँग्रेसले प्रत्यक्षतर्फ युवा उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र भएको रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, नेपाली कम्यूनिष्ट पार्टीका गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति मानबहादुर शाही, नेकपा (माओवादी) का नेता चन्द्र बुढा (सी) लगाएतका उम्मेदवार प्रतिष्पर्धामा छन् ।
बिगतका निर्वाचनहरुमा निरन्तर यो क्षेत्रमा जर्नादन बिजय हुँदै आएका थिए । तर, यसपटक झन्डै तीन दशक लामो ‘प्रचण्ड’ संगको सम्बन्ध टुँग्याउँदै जनार्दन एक्लै प्रतिष्पर्धाका लागि मैदानमा उत्रिएका छन् ।
पूर्व माओबादीहरुको टुटफूटको मौका छोपेर काँग्रेस आफ्नो पक्षमा जित निकाल्ने रणनीतिका लागि चुनाबी प्रचार प्रशार अभियानमा सक्रिय हुन थालेको छ ।

