काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिचालन समितिको संयोजकका हैसियतमा माघ २९ गते बिहीबार मातहतका निकायलाई ३४ बुँदे परिपत्र गरे । परिपत्रमा ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका– ०८२’ मा समेटिएका पार्टीका उम्मेदवारले प्रचारप्रसारमा ध्यान दिनुपर्ने विषय छन् ।
कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा भएको विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले निर्वाचन प्रचारप्रसारमा र निर्वाचन परिचालनमा केही नयाँ नीति अख्तियार गरेको छ ।
कांग्रेसले यो पटक प्रचार अभियानका लागि ‘साझा दायित्व/साझा स्वामित्व’ को नीति अगाडि ल्याएको छ । त्यो नीतिमा ‘पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउने विषय उपसभापति शर्माले गरेको परिपत्रमा उल्लेख छ ।
प्रचार अभियानका लागि स्वतःस्फूर्त आर्थिक सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठुला–साना व्यवसायीलाई देशभर कहीँ पनि दबाब नदिने नीति कांग्रेसको छ ।
प्रचार प्रसारको क्रममा निर्वाचनपछि बन्ने संसदबाट विद्यमान संविधानमा आवश्यक संशोधन गरेर समयानुकूल बनाउनका लागि निर्वाचनको मैदानमा रहेका उम्मेदवार र प्रचारकहरूले नागरिक अभिमत माग्ने र त्यसलाई गहन आत्मसात् गर्ने नीति पनि कांग्रेसले अख्तियार गरेको छ ।
भ्रातृ/शुभेच्छुक संस्था तथा जिल्ला सम्पर्क समितिलाई आ–आफ्नो संगठनको वडा तहसम्म रहेका पदाधिकारी र सदस्यलाई मूलतः ‘डिजिटल मुभ’ मा प्रेरित गर्दै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ मा केन्द्रित बनाउने विषय निर्देशिकामा उल्लेख छ ।
एउटा वडाका नेता–कार्यकर्ता अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौँ’ उदघोषका साथ आ–आफ्नै वडामा खट्ने नियम बनाउँदै निर्वाचन परिचालन समितिले ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नीति बनाएको छ ।
केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत् तत् स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला÷क्षेत्र÷पालिका र वडामा केन्द्रित हुने तथा चुनावी अभियान ‘फिजिकल’ कम ‘डिजिटल’ बढी हुँदै गएको स्थिति अनुरुप सामाजिक सञ्जालको प्रयोगमा पार्टीका सबै सदस्य जागरुक ढंगले सहभागी हुने कांग्रेसको नीति छ ।
प्रचार सामग्री मर्यादित बनाउने तथा बदलिएको समयको अपेक्षा र बदलिएको कांग्रेसको सङ्कल्प अनुरुप नवयुवाका मुद्दा, भावना, सोच र सपनालाई आत्मसात् गर्ने पार्टीको धारणा कांग्रेसले बनाएको छ । ‘युवाका बदलिएका सपनाको सम्बोधन, बदलिएको कांग्रेसको नेतृत्वमा’ भन्ने सङ्कल्प र प्रतिबद्धता उम्मेदवार र प्रचारकले व्यक्त गर्ने परिपत्रमा उल्लेख छ ।
‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो’ भन्ने नारा बनाएका उपसभापति शर्माले चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार कांग्रेसका लागि दुश्मन नभएको भन्दै परिपत्रमा अन्य उम्मेदवारका बारेमा स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्ने उल्लेख गरेका छन् ।
निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तव्य मूलतः दलहरूकै भएको बताउँदै शर्माले अन्य सबै दललाई घच्घच्याउने भूमिका समेत कांग्रेसले निर्वाह गर्नुपर्ने लेखेका छन् । घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट कांग्रेसका उम्मेदवार र प्रचारक टाढा रहने र पार्टीका उम्मेदवारको प्रस्तुति सम्पूर्णतः संयमित र परिपक्व रहनुपर्ने उनको भनाइ छ ।
निर्वाचन जित्न जे पनि आश्वासन दिने गलत राजनीतिक प्रवृत्ति रोक्ने पनि कांग्रेसको नीति छ । ‘स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न जे पनि आश्वासन दिने’ गलत राजनैतिक प्रवृत्तिबाट होइन, स्थानीय नागरिक लाभान्वित हुनसक्ने कोणबाट टुङ्गोमा पुग्ने,’ शर्माले परिपत्रमा लेखेका छन् ।
‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ का रूपमा अघि आएको तथ्य मतदाता समक्ष राखेर मतदाताको नवीन विश्वास गाँस्न प्रभावकारी अभियान अघि बढाउन ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ भन्ने तथ्यलाई उजागर गर्ने पनि परिपत्रमा उल्लेख छ ।

