मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमका प्रतिनिधिसभा उम्मेदवार राजु केसी र समानुपातिक उम्मेदवार मानबहादुर नेपालीसहितको चुनावी कार्यक्रम बुधबार आठविसकोट नगरपालिका–४, गोतामकोटमा सम्पन्न भएको छ।
घरदैलो तथा मतदाता भेटघाट अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीयबासीले उम्मेदवारसहितको टिमलाई बाजागाजासहित स्वागत गरेका थिए। कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने नेताहरूले यसपटक रुकुम पश्चिममा नेपाली कांग्रेसले २०५१ सालपछि पुनः चुनाव जित्ने दाबी गरे। उनीहरूले यसपटकको चुनावी अभियान भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न पाइएको भन्दै विगतका चुनावजस्तो मतदातामाथि डर–धम्की नभएको बताए। पार्टीका जिल्ला तहदेखि वडा तहसम्मका समितिहरूले सक्रिय रूपमा चुनावी गतिविधिहरू सञ्चालन गरिरहेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।
चुनावी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा उम्मेदवार तथा नेताहरूले मतदातासँग अन्तरक्रिया समेत गरेका थिए।
चुनावी कार्यक्रममा प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी, समानुपातिकतर्फका उम्मेदवार मानबहादुर नेपाली, पूर्व राज्यमन्त्री गोपालजी जंग शाह, नेपाली कांग्रेस कर्णाली प्रदेश महामन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेमप्रकाश वली, महासमिति सदस्य तिलक भण्डारीको उपस्थिति रहेको थियो।
यस्तै पूर्व जिल्ला उपसभापति धिरेन्द्र बटाला, जिल्ला सचिव तारक शाही, तरुण दल जिल्ला अध्यक्ष लोकेन्द्र केसी, नेपाली कांग्रेस आठविसकोट नगर सभापति अमृत बोहरा, प्रदेश सदस्य कमलकुमार शाह, बलबीर गोसाई, युवा नेता शिव आचार्य, आठविसकोट नगरपालिका–९ का वडा अध्यक्ष जनकबहादुर बटालालगायत पार्टीका नेता तथा ठूलो संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


