काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघले निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण आयोजना गरेको छ । महासंघले सातवटै प्रदेशमा यस प्रकारको अभिमुखीकरण आयोजना गर्दैछ ।
काठमाडौंबाट सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा.मिना कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् मर्यादित बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘स्वच्छ निर्वाचन र स्वतन्त्र प्रेस लोकतन्त्ररूपी एउटै सिक्काका दुई पाटा हुन । स्वतन्त्र र जिम्मेवार प्रेस लोकतन्त्रको मेरुदण्ड हो । आचारसंहिता केवल कागजमा सीमित रहँदा त्यसको प्रभाव न्यून हुन्छस त्यसलाई जीवन्त बनाउने शक्ति सञ्चारमाध्यममा निहित छ । प्रेसले अज्ञानताको अन्धकारमा सत्यको दीप प्रज्वलित गर्नुपर्छ । जिम्मेवार पत्रकारिताले समाजलाई सुसूचित बनाउँछ, जबकि असत्य र भ्रामक समाचारले जनविश्वासमा गम्भीर क्षति र्पुयाउन सक्छ । निर्वाचन अवधिमा सत्य, तथ्य र सन्तुलित प्रस्तुति झनै आवश्यक हुन्छ । समाचार छिटो दिनुपर्ने दबाब हुँदाहुँदै पनि सत्यता र विश्वसनीयता सर्वोपरि हुनुपर्छ । पुष्टि नभएका सूचना, हल्ला वा भ्रामक सामग्रीको प्रसारणले लोकतान्त्रिक प्रक्रियामा प्रतिकूल असर पार्न सक्छ ।’
महासंघका अध्यक्ष निर्मला शर्माले डिजिटल मिडियाको प्रभाव बढिरहेको परिप्रेक्ष्यमा अनलाइन मिडियामा कार्यरत पत्रकार तथा कन्टेन्ट क्रिएटरलगायतका पत्रकारहरूलाई लक्षित गरी अभिमुखीकरण आयोजना गरिएको बताइन् ।
प्रशिक्षक उज्ज्वल आचार्यले निर्वाचनका बेला गरिने रिपोर्टिङ, पत्रकार तथा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी एवं पत्रकारले पालना गर्नुपर्ने आचरणका बारेमा प्रशिक्षण दिए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष उमिद बागचन्द, कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्यहरू र विभिन्न सञ्चारमाध्यममा कार्यरत ४० भन्दा बढी पत्रकारहरूको उपस्थिति रहेको थियो ।

