यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस रुकुम पश्चिमका उम्मेदवार राजु केसी चुनावी मैदानमा हुनुहुन्छ ।
गत माघ ६ गते उम्मेदवारी दर्ता गराएपछि मतदाता भेटघाटको कार्यक्रम तय गरेर चुनावी प्रचारमा लाग्नु भएका उहाँ जिल्लाका सबै वडामा पुगेर गृह नगर मुसिकोट फर्कनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् समानुपातिक तर्फका उम्मेदवार मानबहादुर नेपाली, पुर्व राज्यमन्त्री गोपाल जी जंग शाह, कर्णाली प्रदेशका महामन्त्री एवम् राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेम प्रकाश ओली लगायतका नेता कार्यकर्ताको साथमा वडास्तरमा पुग्नु भएका उम्मेदवार केसीले मतदाता भेटघाटपछि जनता थप उत्साहित भएको बताउनुभयो ।
बदलिदो परिस्थितिसँगै जिल्लावासीले परिवर्तित नेतृत्व चाहेको उहाँको भनाइ छ । मतदातासँगको छलफलका क्रममा लामो समयसम्म जिल्लाको गुणस्तरिय विकासमा कमजोरी भएको, जनताले अन्याय भोगिरहेको र मतदान मार्फत आफ्नो विवेकको उचित प्रयोग गर्न चाहेको उहाँको प्रतिक्रिया रहेको छ ।
बस्ती बस्तीमा पुगेर जिल्ला सदरमुकाम फर्केपछि घरदैलो अभियानको बारेमा उहाँले उजेली न्युजलाई दिएको प्रतिक्रिया संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ :-
“घरदैलोमार्फत मतदाता भेटघाट गरेर सदमुकाम फर्केको छु । यस बीचमा हाम्रो जिल्लामा राजनितिक आस्थाका कारण अवसरमा चरम विभेद गरिएको जन गुनासो सुन्न पाए । सरकारी अनुदान आफ्ना आसेपासे र कार्यकर्तामा सिमित गरिएको देखें ।
सरकारी सेवा सुविधामा पहुंचवालाकै हाली मुहाली भएको भेटे । सरकारी बजेटमा मनोमानी र गुणस्तरहीन खर्च भएको पाए ।
यस्ता अनियमिताका तमाम् गुनासो सुन्न पाए । जुन सुन्दा मलाई असाध्यै दुःख लाग्यो ।
व्यवसायमार्फत स्वरोजगारमा जोड दिँदै आएको म, अब आत्मनिर्भर तथा स्वनिर्भर जिल्ला र विवेकशील रुकुमवासी भएको देख्न चाहन्छु र सोही अनुसारको नेतृत्व गर्न कस्सिएको छु ।
राज्यको नीतिगत तहमा उभिएर चुस्त र दुरुस्त संरचना निर्माण गर्न चाहन्छु । यहाँको विकास जनताकै आवश्यकता र मागमा आधारित भई दिगो रुपमा गर्न चाहन्छु । मेरो होइन हाम्रो गाउँघर बनाउन चाहन्छु ।
म सेवा भावले राजनीतिमा आएको छु । तपाईंहरुलाई गुनासो गर्न ठाउँ दिने छैन । एक पटक मलाई विश्वास गरेर मत दिन हुन विनम्र अनुरोध गर्दछु ।”

