द्वन्द्वकालमा काँग्रेस जोगाएका नेता : मानबहादुर नेपालीको राजनीतिक यात्रा

द्वन्द्वकालमा काँग्रेस जोगाएका नेता : मानबहादुर नेपालीको राजनीतिक यात्रा

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रुकुम पश्चिमका मानबहादुर नेपाली पार्टीभित्र स्पष्ट धारणा, संगठन निर्माणमा सक्रियता र लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताका कारण परिचित नेताका रूपमा स्थापित भएका छन्।
रुकुमबाट उदाएका उनी दलित समुदायका सशक्त प्रतिनिधि मात्र होइन, कठिन परिस्थितिमा पनि लोकतन्त्र र पार्टी संगठन जोगाउन अग्रपंक्तिमा उभिएका एक भरोसायोग्य नेताका रूपमा चिनिन्छन्।

राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण नेपालीले आफ्नो राजनीतिक जीवन विद्यार्थी आन्दोलनबाट सुरु गरेका हुन्। २०५२ सालमा नेपाल विद्यार्थी संघ रुकुमका सभापति बनेर उनले औपचारिक रूपमा सक्रिय राजनीति सुरु गरेका थिए। त्यतिबेला देशमा माओवादी सशस्त्र द्वन्द्व चर्किरहेको थियो र रुकुम त्यसको प्रमुख उद्गमस्थलका रूपमा चिनिन्थ्यो। यस्तो जटिल र जोखिमपूर्ण परिस्थितिमा पनि नेपालीले प्रजातन्त्र र नेपाली काँग्रेसको संगठन जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसपछि २०५४ सालमा उनी नेपाल तरुण दल रुकुमको जिल्ला अध्यक्ष बने। द्वन्द्वकालमा नेपाली काँग्रेससँग आबद्ध हुनु नै जोखिमपूर्ण मानिने अवस्थामा पनि उनले पार्टीको संगठन जोगाउने र विस्तार गर्ने काममा महत्वपूर्ण योगदान दिएका थिए। त्यसैले उनलाई पार्टीप्रति निष्ठावान र साहसी युवा नेताका रूपमा लिने गरिन्छ।
पार्टी संगठन निर्माणमा उनको निरन्तर सक्रियताका कारण उनी नेपाली काँग्रेसको १०औँ महाधिवेशनबाट जिल्ला सचिव बने। त्यसपछि उनले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरेका छन्। पार्टीभित्र उनले सधैं संगठन सुदृढीकरण, कार्यकर्ता सशक्तीकरण र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा आवाज उठाउँदै आएका छन्।

मानबहादुर नेपाली दलित समुदायबाट नेपाली काँग्रेसको जिल्ला सभापति बन्ने नेपालकै पहिलो नेता मानिन्छन्। १२औँ महाधिवेशनबाट उनी रुकुम जिल्लाको पार्टी सभापति बनेका थिए। यो उपलब्धि दलित समुदायका लागि मात्र नभई समग्र समावेशी राजनीतिका लागि पनि महत्वपूर्ण मानिन्छ। उनले आफ्नो नेतृत्वकालमा रुकुममा पार्टी संगठनलाई थप मजबुत बनाउने काम गरेका थिए।

उनको निष्ठा, लगनशीलता र सक्रियताको कदर गर्दै सरकारले २०७१ सालमा उनलाई राष्ट्रिय दलित आयोगको अध्यक्षको जिम्मेवारी दिएको थियो। उक्त पदमा रहँदा उनले दलित समुदायका अधिकार, समानता र सामाजिक न्यायका विषयमा विभिन्न पहल गरेका थिए। त्यहाँ उनले दुई वर्षसम्म जिम्मेवारी सम्हाल्दै दलित समुदायको उत्थानका लागि नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका खेले।

यसअघि २०५७ सालमा उनी मध्यपश्चिम क्षेत्रबाट उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान विकास समितिको सदस्यसमेत बनेका थिए। त्यतिबेलादेखि नै उनले सामाजिक न्याय, समावेशीता र दलित समुदायको सशक्तीकरणका मुद्दामा निरन्तर काम गर्दै आएका छन्।

पार्टीभित्र स्पष्ट विचार राख्ने, कार्यकर्तासँग नजिक रहेर काम गर्ने र संगठन निर्माणमा सक्रिय रहने नेताका रूपमा चिनिएका नेपालीले राजनीतिलाई समाज परिवर्तन र देश विकासको माध्यमका रूपमा लिनुपर्ने धारणा राख्छन्। उनका अनुसार राजनीति सत्ताको साधन मात्र होइन, समाजप्रतिको जिम्मेवारी र सेवाको माध्यम पनि हो।
नेपाली अहिलेको कठिन परिस्थितिमा पार्टीका उम्मेदवारलाई निर्वाचनमा जिताउन र पार्टीको पक्षमा माहोल बनाउन अहोरात्र खटिएका थिए। उनी सधैं पार्टीभित्र इमान्दार भएर खटिने तर अवसर आउँदा पछाडि पारिने नेतामध्येमा पर्दै आएका छन् भन्ने धारणा पनि पार्टी वृत्तमा सुन्न पाइन्छ।

यसपटक मानबहादुर नेपालीलाई नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ दलित क्लस्टरबाट पहिलो नम्बरमा बन्दसूचीमा राखेको छ। यसअघि पनि तीन पटकसम्म उनको नाम समानुपातिक बन्दसूचीमा परेको थियो। यसले पार्टीभित्र उनको योगदान, सक्रियता र लोकप्रियतालाई झल्काउँछ। यद्यपि, लामो राजनीतिक यात्रा र योगदानका बावजुद उनी हालसम्म सांसद बन्ने अवसरबाट भने वञ्चित हुँदै आएका छन्। यसपटक भने उनी सांसद बन्ने सम्भावना बलियो देखिएको छ।

विगत तीन दशकदेखि निरन्तर पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन र सामाजिक न्यायका मुद्दामा सक्रिय मानबहादुर नेपालीलाई नेपाली काँग्रेसभित्र दलित समुदायका एक भरोसायोग्य, अनुभवी र प्रतिबद्ध नेताका रूपमा हेरिन्छ। रुकुमजस्तो दुर्गम क्षेत्रबाट उठेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान स्थापित गर्न सफल उनी आगामी दिनमा अझ ठूलो जिम्मेवारीमा पुग्ने अपेक्षा पार्टी वृत्तमा गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार