अबको कांग्रेस: आत्मसमीक्षा, एकता र पुनर्संरचना

अबको कांग्रेस: आत्मसमीक्षा, एकता र पुनर्संरचना

स्थापनाकालदेखि नै नेपाली कांग्रेसले आफूलाई एक मध्यममार्गी र मध्यमवर्गीय लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्दै आएको छ। हालैको निर्वाचन परिणाम र त्यसले सिर्जना गरेको राजनीतिक परिदृश्यले पार्टीको वैचारिक र साङ्गठनिक धरातलमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। वर्तमानको यो सङ्कटपूर्ण अवस्थालाई गहिरोसँग बोध गर्दै पार्टी पङ्क्तिले अबको राजनीतिक दिशा र कार्यदिशा तय गर्न अपरिहार्य भएको छ। यसका निम्ति नेतृत्वदेखि तल्लो तहसम्मका सम्पूर्ण संरचनाले जस्तोसुकै राजनीतिक मूल्य चुकाउन र निर्मम आत्मसमीक्षा गर्न तयार हुनुपर्छ।

ऐतिहासिक पृष्ठभूमितर्फ दृष्टिगोचर गर्दा, आधुनिक नेपालको निर्माण र लोकतान्त्रिक रूपान्तरणको बृहत् कार्यभार एउटा मात्र राजनीतिक समूहबाट सम्भव नदेखेरै बी.पी. कोइराला र सुवर्ण शमशेरले दुई भिन्न पार्टीको एकीकरण गरी नेपाली कांग्रेसको निर्माण गरेका थिए। तत्कालीन समयको त्यो जटिल राजनीतिक चुनौती आज पनि उत्तिकै सान्दर्भिक छ। वैचारिक बहुलता र आन्तरिक लोकतन्त्र नै कांग्रेसको सर्वाङ्गीण शक्ति हो। तसर्थ, पार्टीभित्रका विविध विचार र दृष्टिकोणलाई एकीकृत गरी उच्चतम् सहिष्णुताका साथ अगाडि बढ्नुको विकल्प छैन।

विश्व राजनीतिका समकालीन दृष्टान्तहरूको विश्लेषण गर्दा हामीले गम्भीर पाठ सिक्न सक्छौँ। एकातिर, चीनको ऐतिहासिक कोमिन्ताङ पार्टी (Kuomintang – KMT) को अवसान र हाम्रै छिमेकी भारतमा भारतीय राष्ट्रिय कांग्रेस (आई) ले भोगिरहेको निरन्तरको कमजोर राजनीतिक परिणाम हाम्रा लागि गम्भीर चेतावनी हुन्। अर्कोतर्फ, बेलायतमा टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टीले १६ वर्ष लामो सङ्घर्षपश्चात् गरेको ऐतिहासिक पुनरुत्थान हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छ। विगतमा नेपालको युगान्तकारी परिवर्तनको नेतृत्व गरेको कांग्रेसले आफ्नो ऐतिहासिक जगलाई पुनः स्मरण गर्दै त्यस्तै कठोर सङ्घर्ष र रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने देखिन्छ।

यतिबेला पार्टी ‘सुनामीपछिको सन्नाटा’ अर्थात् एक गम्भीर शून्यता र विशृङ्खलताको अवस्थामा पुगेको यथार्थलाई पन्छाउन सकिँदैन। अबका दिनमा विगतका महाधिवेशन, गुटगत किचलो र आन्तरिक शक्ति सङ्घर्षका सम्पूर्ण विषयहरू नितान्त गौण भइसकेका छन्। यी समग्र कमजोरी र विफलताहरूलाई शून्य विन्दुमा विसर्जन गर्दै नितान्त नयाँ शिराबाट महाधिवेशनमार्फत पार्टीको साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्नुपर्ने बेला आएको छ।

लोकतन्त्रका आधारभूत मूल्यमान्यताको रक्षा र नेपालको सामाजिक–आर्थिक रूपान्तरणको नेतृत्व गर्न अब कांग्रेसले हिजोका सबै आग्रह–पूर्वाग्रह त्यागेर शून्यबाटै नवीन र एकताबद्ध यात्राको थालनी गर्नुपर्दछ।

लेखक ओली नेपाली कांग्रेस चौरजहारी नगरकार्य समिति सचिव हुनुहुन्छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार