आक्रमणको घाउ सुक्न नपाउँदै नेतृत्वमाथि आरोपको राजनीति

आक्रमणको घाउ सुक्न नपाउँदै नेतृत्वमाथि आरोपको राजनीति

भाद्र २४ गते ‘जेन्जी आन्दोलन’का नाममा भएको लुटपाट र आगजनीको क्रममा कांग्रेसका सभापति शेर बहादुर देउवा र उहाँको परिवारमाथि साङ्गातिक हमला भयो।

भौतिक आक्रमणबाट गम्भीर रूपमा घाइते भएका देउवा दम्पतीलाई करिब १२ घण्टापछि मात्र उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो। आक्रमणका घाउहरू राम्रोसँग उपचारसमेत नपाउँदै उहाँले पार्टीको सक्रिय भूमिकाबाट अलगिनुपर्ने अवस्था सिर्जना गरियो।

तर विडम्बना के रह्यो भने, त्यही घटनाको पीडित नेतृत्वलाई नै ‘जेन्जी आन्दोलन’को खलनायकका रूपमा चित्रित गर्ने काम पार्टीभित्रकै केही जिम्मेवार नेताहरूबाट भयो। आक्रमणको ३५ दिनपछि देउवा सानेपास्थित पार्टी मुख्यालयमा सार्वजनिक हुनुभयो र केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य अवस्थाका कारण कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिनुभयो।

उहाँको सम्बोधनको सबैभन्दा उल्लेखनीय पक्ष के थियो भने—यत्रो बर्बर आक्रमण भोग्दा पनि उहाँले कसैमाथि कुनै कटु टिप्पणी गर्नुभएन। बरु भाद्र २३ गते मारिएका निर्दोष बालबालिकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शान्तिपूर्ण निर्वाचन वातावरण निर्माण गर्न आग्रह गर्नुभयो। न कुनै गुनासो, न कुनै आक्रोश—केवल संयम, शालीनता र जिम्मेवारीको उदाहरण।
देउवाको यही व्यवहारलाई कांग्रेसबाहिरका राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरूले समेत प्रशंसा गरे।

यसलाई कांग्रेसको सभ्य राजनीतिक संस्कारको प्रतीकका रूपमा व्याख्या गरियो। अझ, चुनाव बहिष्कारको अडानमा रहेका एमाले नेताहरूलाई समेत निर्वाचनमा सहभागी हुन मनाउन उहाँकै भूमिका निर्णायक रह्यो।

तर, यति सकारात्मक सन्देशलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बेलामा उल्टै नेतृत्वमाथि प्रहार सुरु भयो। देउवाको छविलाई कमजोर बनाउँदै “उहाँको अनुहार बिक्दैन” भन्ने भाष्य निर्माण गरियो, र आफ्नै अनुहारलाई केन्द्रमा राखेर केही नेताहरूले पार्टीलाई विशेष महाधिवेशनको बहानामा विभाजनतर्फ धकेल्ने प्रयास गरे।

आज, चुनावी परिणामपछि तिनै स्वघोषित ‘वैकल्पिक’ नेताहरूले देउवाले भोट नमागेकै कारण कांग्रेसले हार बेहोर्नुपरेको भन्दै रुवावासी गरिरहेको देखिन्छ। यो अवस्थाभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ?
नेतृत्वमाथि आक्रमण हुँदा मौन रहने, तर चुनावी हारपछि दोषारोपण गर्ने प्रवृत्तिले पार्टीलाई कहाँ पुर्‍याउँछ? यो प्रश्न आज गम्भीर रूपमा उठेको छ। कांग्रेसले अब व्यक्तिवाद र आन्तरिक द्वन्द्वभन्दा माथि उठेर शालीनता, एकता र जिम्मेवारीको बाटो समात्नुपर्ने बेला आएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार