मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १० दिने निःशुल्क योग शिविर सुरु भएको छ ।
मुसिकोट नगरपालिका, आयुर्वेद औषधालयको आयोजनामा खलङ्गाको बाल मन्दिरमा शिविरको उद्घाटन गरिएको हो । आज एक कार्यक्रमका बिच नगर प्रमुख महेन्द्र केसीले शिविरको उद्घाटन गर्नुभएको हो ।
शिविर १० दिनसम्म बाल मन्दिरमै सञ्चालन हुने छ । योग अभ्यासको प्रचार गर्ने, योग अभ्यास गराउने, सकारात्मक जीवन शैली व्यवस्थापन सम्बन्धी ज्ञान दिने उद्देश्यले वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविर आयोजना गरिएको हो ।
योग शिविरमा पहिलो दिन आज ६० जना बढीको सहभागिता रहेको थियो ।
हरेक दिन बिहान पौने ५ बजेदेखि ७ बजेसम्म शिविर सञ्चालन हुने बताइएको छ । शिविरमा प्रशिक्षकका रूपमा महिला पतञ्जलि योग समितिका अध्यक्ष दीपा केसी रहनुभएको छ ।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख महेन्द्र केसीले योगले शारीरिक सहित मानसिक रूपमा तन्दुरुस्त बनाउने भएकोले योगको महत्त्व धेरै रहेको बताउनुभएको थियो ।
नगर प्रमुख केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरीक्षक राजेन्द्र केसीले गर्नुभएको थियो ।

