सानीभेरी गाउँपालिकामा वैशाख १० देखि भर्ना, २१ गतेबाट पढाइ सुरु

सानीभेरी गाउँपालिकामा वैशाख १० देखि भर्ना, २१ गतेबाट पढाइ सुरु

मुसिकोट । शैक्षिक सत्र २०८३ सुरु हुने सन्दर्भमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयका प्रधानाध्यापक तथा गाउँपालिकाका कार्यपालिका सदस्यहरूबीच वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आज सम्पन्न प्रधानाध्यापक बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रमले वैशाख १० गतेबाट भर्ना अभियान सुरु गर्ने तथा सङ्घीय सरकारको परिपत्र अनुसार वैशाख २१ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भूपालसिंह विष्टले जानकारी दिनुभयो।

प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको मागअनुसार भर्ना अभियान छिटो सुरु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। भर्ना अभियान ढिला हुँदा विद्यार्थीमा अन्यौलता बढ्ने, शिक्षकहरू निष्क्रिय हुने र वैशाख १५ बाट अभियान सुरु गर्दा २१ गतेदेखि पढाइ सञ्चालन गर्न दबाब पर्ने देखिएकाले यस्तो निर्णय गरिएको उहाँको भनाइ छ।

गाउँपालिकाले भर्ना हुने सबै विद्यार्थीलाई सुरुमै पाठ्यपुस्तक उपलब्ध गराउने जनाएको छ।

यसैबीच, गाउँपालिकाभरका विद्यालयहरूले नयाँ शैक्षिक सत्रका लागि शैक्षिक कार्ययोजना तयार पार्ने निर्णय गरेका छन्। तयार गरिएका कार्ययोजना वैशाख २० गतेभित्र गाउँपालिकामा पेश गर्नुपर्नेछ। शिक्षा शाखाको गाइडलाइन अनुसार समग्र शैक्षिक विकास र गुणस्तर वृद्धिलाई प्राथमिकता दिँदै योजना निर्माण गरिने शिक्षा शाखा प्रमुख विष्टले जानकारी दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा समग्र शैक्षिक विकास, गुणस्तर कायम राख्ने तथा थप सुधारका उपायहरूबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा विगत पाँच वर्षमा हासिल भएका शैक्षिक उपलब्धिहरूको समीक्षा समेत गरिएको थियो। सहभागीहरूले विद्यालय व्यवस्थापन, विद्यार्थी सिकाइ उपलब्धि, शिक्षकको भूमिका तथा शैक्षिक सुधारका सम्भावनाबारे आफ्ना विचार राख्दै समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्का, शिक्षा शाखा प्रमुख भूपालसिंह विष्ट, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार